गृहपृष्ठ गोपाल खड्काविरुद्ध अख्तियारले लगाएका अभियोग यस्ता छन्

गोपाल खड्काविरुद्ध अख्तियारले लगाएका अभियोग यस्ता छन्

gopal_khadka

१८ करोड रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । अन्य व्यक्तिको नाममा लुकाई राखेको ७ करोडभन्दा बढीको सम्पत्ति समेत जफतको माग दाबी गर्दै मुद्दा हालिएको छ ।

खड्काले २०६९ साल चैतदेखि अहिलेसम्म पारिश्रमिकबाट ४० लाख ५७ हजार, जग्गा बिक्रीबाट ५८ लाख ७५ हजार, ऋण सापटीबाट ५ करोड ३३ लाख ३६ हजार, घर भाडाबाट १३ लाख ५६ हजार, जागिरबाट अवकाश हुँदा पाएको आर्थिक सुविधा पापत २९ लाख २२ हजार, पेन्सनबाट १४ लाख ७८ हजार, विप्रेषण आयबाट ८ लाख २६ हजार, गाडी बिक्रीबाट ३५ लाख, छोरा बुहारीको पारिश्रमिकबाट ११ लाख गरी जम्मा ७ करोड ४४ लाख ५६ हजार रुपैयाँका साथै सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०६९ चैतसम्ममा देखिएको विभिन्न शीर्षकको आय १ करोड २० लाख रुपैयाँसहित ८ करोड ६४ लाख ६९ हजार आर्जन गरेको देखिएको अख्तियारले जनाएको छ ।

अख्तियारको अनुसन्धानमा पुर्ख्यौली घरबाहेक नै ३ वटा घर निर्माण तथा खरिद गरिसकेको समेत भेटिएको छ । २ वटा घर खरिदका लागि आंशिक भुक्तानीसमेत दिइसकेको र काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरेको समेत अख्तियारले फेला पारेको छ ।

उनले घरजग्गा खरिदमा ११ करोड ६१ लाख, विभिन्न कम्पनीको शेयर खरिदमा १ करोड ६ लाख, ऋणको सावाँब्याज भुक्तानीमा ४ करोड २२ लाख रुपैयाँ भेटिएको अख्तियारले जनाएको छ । यसैगरी व्यक्तिगत रूपमा दिएको सापटी १ करोड २५ लाख ६० हजार, विभिन्न व्यक्ति तथा संस्थालाई दिएको चन्दा तथा सहयोग १ करोड १७ लाख ७५ हजार, छोराछोरीको अध्ययन र सामाजिक व्यवहारमा भएको खर्च २५ लाख, गाडी खरिदमा १ करोड १७ लाख रुपैयाँ पनि खर्च भएको अख्तियारले फेला पारेको छ ।

खड्काले विभिन्न बैंकका एटिएमबाट सुपरमार्केटहरूमा १ करोड ८० लाख १६ हजार रुपैयाँ खर्च गरेको पनि भेटिएको छ । विभिन्न ५५ वटाभन्दा बढी बैंक वित्तीय संस्था तथा सहकारीमा जम्मा २ करोड ७१ लाख ५३ हजारसमेत गरी २५ करोड २८ लाख भेट्टिएको अख्तियारले जनाएको छ ।

यसमध्ये उनको स्रोत खुलेको आय ८ करोड ६४ लाख ६९ हजार रुपैयाँ मात्र छ । १८ करोड ६६ लाख रुपैयाँको स्रोत खुलेको छैन । यसलाई अख्तियारले गैरकानूनी रूपमा आर्जन गरेको आरोप लगाएको छ । खड्काले आर्जन गरेको गैरकानूनी सम्पत्तिमध्ये अमिता लामा सोदेम्बा र आफ्नी श्रीमती शर्मिला खड्काको नाममा समेत लुकाएको आरोप अख्तियारको छ । अमिता लामा सोदेम्बाको नाममा जम्मा ७ करोड ५४ लाखको सम्पत्ति लुकाएको अख्तियारले फेला पारेको बताएको छ ।

खड्काले सिजी डेभलपर्सले निर्माण गरेको हात्तिगौडास्थित सिजी हिल्समा ३ करोड २५ लाखमा घर खरिद गरेका छन् । यसैगरी बूढानीलकण्ठमा ४० लाख ११ हजारको ८ आना जग्गा खरीद गरेको पनि भेटिएको छ । ८४ लाख ४६ हजारमा टक्सन गाडीसमेत खरीद गरेका छन् । सिजी डेभलपर्सले निर्माण गरेको ३ करोड पाँच लाख रुपैयाँको हाउजिङ खरीद गरेको पनि भेटिएको छ । अमिता लामाको नाममा रहेको एनएमबी बैंक र सिटिजन बैंकको खाताहरूबाट गोपालबहादुर खड्काले नै कारोबार गर्ने गरेकोसमेत भेटिएको अख्तियारको दावी छ ।

 

यस्तो छ अख्तियारले जारी गरेको विज्ञप्ती

प्रेस बिज्ञप्ति मिति २०७५।९।२३ गते

आरोप पत्र दायर गरिएको

गोपालबहादुर खड्का विरुद्ध १८ करोडभन्दा बढी गैरकानूनी सम्पत्ती आर्जन गरेको अभियोगमा मुद्दा दायर अन्य ब्यक्तिको नाममा लुकाई राखेको ७ करोडभन्दा बढीको सम्पत्ती समेत जफतको मागदाबी र दशीको रूपमा रु.८९,८९,०००। नगदै अदालत दाखिला ।

नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काले गैरकानुनी सम्पत्ती आर्जन गरेको भनी आयोगमा परेको उजुरीका सम्बन्धमा आयोगबाट गरिएको अनुसन्धानबाट निज गोपालबहादुर खड्का सार्वजनिक सेवा प्रवेशगरे पश्चातको समग्र आय र व्ययको विश्लेषण गर्दा

निजको आम्दानीतर्फ

मिति २०६९।१२।२ देखि अनुसन्धान अवधिसम्ममा निजको पारिश्रमिकबाट जम्मा रु. ४०,५७,१५५।४७, जग्गा बिक्रीबाट जम्मा रु. ५८,७५,०००। ऋण सापटीबाट जम्मा रु. ५,३३,३६,०००। घर भाडाबाट रु. १३,५६,०००। नोकरीबाट अवकाश हुँदा प्राप्त गरेको आर्थिक सुविधा रु. २९,२२,६९८।२८, पेन्सनबाट रु. १४,७८,४८२।२४, विप्रेषण आयबाट प्राप्त रु. ८,२६,९१३।५४, गाडी बिक्रीबाट रु. ३५,००,०००।  निजको छोरा बुहारीको पारिश्रमिकबाट रु. ११,०४,००३। गरी जम्मा रु.७,४४,५६,२५२।५३ का साथै निजले सार्वजनिक सेवामा प्रवेश गरेदेखि मिति २०६९।१२।२ सम्ममा देखिएको विभिन्न शीर्षकको आय रु.१,२०,१३,४९९। समेत गरी रु.८,६४,६९,७५१।५३ आय आर्जन गरेको देखियो ।

निजको खर्च तथा लगानीतर्फ

मिति २०६९।१२।२ देखि अनुसन्धान अवधिसम्ममा निजले पुर्ख्यौली घर बाहेक नै ३ वटा घर निर्माण तथा खरिद गरिसकेको र २ वटा घर खरिदका लागि आंशिक भुक्तानीसमेत दिइसकेको र काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरेको पाइयो । निजले घरजग्गा खरिदमा रु.११,६१,४३,२०६।३१, विभिन्न कम्पनीको शेयर खरिदमा रु.१,०६,०४,०००। ऋणको सावाँब्याज भुक्तानीमा रु. ४,२२,९६,२३९।९९, व्यक्तिगत रूपमा दिएको सापटी रु.१,२५,६०,०००। विभिन्न व्यक्ति तथा संस्थालाई दिएको चन्दा तथा सहयोग रु. १,१७,७५,०००। छोराछोरीको अध्ययन र सामाजिक व्यवहारमा भएको खर्च रु. २५,१४,६९५। गाडी खरिदमा रु. १,१७,४२,०००। विभिन्न बैंकबाट सुपरमार्केटहरूमा खर्च गरिएको समेतका रकम रु. १,८०,१६,४४६।८२ र विभिन्न ५५ वटाभन्दा बढी बैंक वित्तीय संस्था तथा सहकारीमा जम्मा मौज्दात रु. २,७१,५३,४२१।६४ समेत गरी जम्मा रु.२५,२८,०५,००९।७६ र निज सार्वजनिक सेवामा प्रवेश गरेदेखि मिति २०६९।१२।२ सम्ममा विभिन्न शीर्षकमा गरेको खर्च तथा लगानी रु.२,०२,७०,३७१। समेत गरी जम्मा रु. २७,३०,७५,३८०।७६ खर्च तथा लगानी गरेको देखिन आई सो लगानीमा निजको स्रोत खुलेको आय रु.८,६४,६९,७५१।५३ घटाउँदा देखिन आउने रु. १८,६६,०५,६२९।२३ बराबरको खर्च तथा लगानीको स्रोत खुल्न नआएको हुँदा रु.१८,६६,०५,६२९।२३ गैरकानूनी रूपमा आर्जन गरी निज गोपालबहादुर खड्काले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज गोपालबहादुर खड्कालाई जम्मा बिगो रु.१८,६६,०५,६२९।२३ (अठार करोड छयसठ्ठी लाख पाँच हजार छ सय उनान्तीस रुपैयाँ तेइस पैसा) कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६(ग) तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय हुन र निज गोपालबहादुर खड्का नेपाल सरकारको विशिष्ट श्रेणीको हैसियतको पदबाट अवकाश भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन र भ्रष्टाचार गरी गैरकानूनी रूपमा आर्जन गरेको चल अचल सम्पत्तिहरू साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ (ग) तथा दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत हुन मागदाबी लिई आजै विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।

त्यसैगरी निजले आर्जन गरेको गैरकानूनी सम्पत्ती मध्ये जिल्ला तेह्रथुम साबिक जिरीखिम्ती गा.वि.स. वडा नं. २ घर भई का.जि. बूढानीलकण्ठ न.पा. वडा नम्बर ४ बस्ने कृष्णबहादुर लामाकी छोरी, दिपक सोदेम्बाकी श्रीमती अमिता लामा सोदेम्बा र निज गोपालबहादुर खड्काले आफ्नी श्रीमती शर्मिला खड्काको नाममा समेत लुकाई छिपाई राखेको देखिंदा निजहरूको नाममा रहेको चल अचल सम्पत्ति जफत गर्ने प्रयोजनका लागि साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ (ग) तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत हुन मागदाबी लिने र जफत गर्ने प्रयोजनका लागि मात्र निजहरूलाई प्रतिवादी कायम गरी आरोपपत्र दायर गरिएको छ ।

अमिता लामा सोदेम्बाको नाममा जम्मा रु. ७,५४,५७,८७५। बराबरको देहाय बमोजिमको सम्पत्ति लुकाई राखेको देखियो ।

१. जिल्ला काठमाडौं साबिक महांकाल गा.वि.स. वडा नं. ४ स्थित कित्ता नं. १९१ मा सि.जी. डेभलपर्सले निर्माण गरेको सि.जी. हिल्स हात्तीगौंडामा मूल्य रु. ३,२५,००,०००। मा खरिद गरेको घर नं. ३२ ।

२. जिल्ला काठमाडौं साबिक बिष्णु बूढानीलकण्ठ गा.वि.स. वडा नं. ३ ख स्थित कित्ता नं.६८९, १४८२ र १५२० को मूल्य रु. ४०,११,८७५। मा खरिद गरेको ८ आना जग्गा ।

३. मूल्य रु. ८४,४६,०००। मा खरिद गरेको बा.१६च.८४८४ नं. को टक्सन गाडी ।

४. जिल्ला काठमाडौं साबिक महांकाल गा.वि.स. वडा नं. ४ स्थित कित्ता नं. ३५० मा सि.जी. डेभलपर्सले निर्माण गरेको घर नं. २२ खरिद गर्नका लागि भुक्तानी गरेको रु. ३,०५,००,०००।

५. अमिता लामाको नाममा रहेको एन एमबी बैंक र सिटिजन बैंकको खाताहरूबाट गोपालबहादुर खड्काले नै कारोबार गर्ने गरेको देखिएको ।

दशी प्रमाणको रूपमा नगद दाखिला

जिल्ला काठमाडौं साबिक विष्णु बूढानीलकण्ठ गा.वि.स. वडा नं. ७ ‘ग’ मा रोडशो रियलस्टेट प्रा.लि.ले निर्माण गरेको घर खरिद गर्नको लागि बैना स्वरूप रू. ८९,८९,०००। भुक्तानी दिएकोमा रोडशो रियलस्टेट प्रा.लि. ले पत्रसहित उक्त रकम बराबरको गुड फर पेमेन्ट चेक आयोगमा दाखिला गरिदिएको हुँदा उक्त चेकको रकम रू. ८९,८९,०००। जफत प्रयोजनका लागि दशीका रुपमा आरोपपत्र साथ सम्मानित अदालत समक्ष दाखिला गरिएको छ ।

रामेश्वर दंगाल
सह–सचिव एवं प्रवक्ता

यो पनि पढ्नुहोस्

गोपाल खड्काविरूद्ध भ्रष्टाचार मुद्दा : साढे १८ करोड अकुत सम्पत्ति

प्रकाशित समय २०:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु