गृहपृष्ठ विप्लव समुहप्रति ‘सर्च एन्ड एरेस्ट अपरेसन’ कठोर
विप्लव समुहप्रति ‘सर्च एन्ड एरेस्ट अपरेसन’ कठोर
आफ्ना नेता र कार्यकतालाई सुरक्षित बस्न विप्लवको निर्देशन
प्रतिबन्ध लगाउने घोषणा गरेपछि सरकार नेत्रबिक्रम चन्द विप्लव समुहप्रति निकै आक्रामक देखिएको छ । प्रहरीले उक्त समूहविरुद्ध ‘सर्च एन्ड एरेस्ट अपरेसन’ लाई कठोर बनाउँदै नेता–कार्यकर्ता देख्नासाथ सबैलाई पक्रन थालेको हो । प्रतिबन्धयता सरकारले नेकपाका नेता र कार्यकर्तालाई धमाधम गिरफ्तार गर्न थालेको छ । गृह मन्त्रालयले प्रहरीलाई विप्लवका कार्यकर्ता जहाँ भेटे पनि पक्राउ गर्न निर्देशन दिइसकेको छ ।
पछिल्ला दिनमा देशैभरबाट दैनिक आठ दश जनाको संख्यामा कार्यकर्ता समातिन थालेका छन् । सो समुहका तेस्रो बरियताका नेता हेमन्तप्रकाश वलीसहितका केही शीर्ष नेता पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा पोलिटब्यूरो सदस्य मोहन कार्की, कोशी ब्युरो इन्चार्ज घनश्याम श्रेष्ठ पुष्कर, बुद्धिजीवी परिषद्का भेरी–कर्णाली इन्चार्ज धनराज शाहीलगायत देशरभरबाट ७४ जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जसमा प्रदेश नम्बर १ बाट १५ जना, प्रदेश २ बाट ७ जना प्रदेश ३ बाट १२ जना गण्डकी प्रदेशबाट २१ जना पक्राउ परेका छन् ।
यस्तै प्रदेश ५ बाट ९ जना कर्णाली प्रदेशबाट ५ र सुदूरपश्चिम प्रदेशबाट ५ जना विप्लव कार्याकर्तालाई प्रहरीले पक्राउ गरिसकेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
प्रतिबन्धपछि भूमिगत रूपमा गतिविधि गरिरहेको विप्लव समूहले आफ्ना केही शीर्ष नेता र कार्यकर्ताहरू धमाधम पक्राउ पर्न थालेपछि कार्यकर्तालाई सुरक्षित बस्न निर्देशन दिएको छ । सरकारले दमन गरेर पक्राउ गरिरहेको भन्दै उक्त समुहले सुरक्षित रुपमा संघर्षका कार्यक्रमहरू एकसाथ अघि बढाउन सर्कुलर जारी गरेको छ । विप्लव नेतृत्वको नेकपा प्रत्याक्रमणको मनस्थितिमा देखिन्छ ।
उसले पक्राउको प्रत्याक्रमण स्वरूप नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सरकारले दमन गरिरहे सरकारमाथि नै प्रतिबन्ध लगाउने उसको चेतावनी छ ।
प्रकाशित समय १९:५८ बजे

















