गृहपृष्ठ बामदेवलाई ओलीको जवाफ- मिल्ने भए दुई प्रधानमन्त्री बनाउँथें
बामदेवलाई ओलीको जवाफ- मिल्ने भए दुई प्रधानमन्त्री बनाउँथें
फाइल तस्बिर
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका नेता बामदेव गौतमले दुई अध्यक्षबीच फाटो ल्याउने प्रयास गरेको आरोप लगाएका छन् । पार्टी सचिवालय सदस्य वामदेव गौतमको नाम नलिई उनीप्रति संकेत गर्दै ओलीले सो धारणा राखेका हुन् ।
शनिबार सुरु स्थायी समिति बैठकमा गौतमले एउटा मात्र अध्यक्ष बनाउनुपर्ने प्रस्ताव राखेका थिए । भोलिपल्ट आईतबार सार्वजनिक कार्यक्रममा ओलीले त्यसको जवाफ दिँदै मिल्ने भए आफू २ जना अध्यक्ष मात्र नभई प्रधानमन्त्रीसमेत दुई जना बनाउने पक्षमा रहेको बताए । ओलीले भने, ‘दुइटा अध्यक्षको अभ्यास हेर्नुस् कसरी अगाडि बढ्छ । संविधानले मिल्दैन, नत्र दुईटा प्रधानमन्त्री पनि बनाउन हुन्थ्यो ।’
पूर्व नेकपा (एमाले) निकट प्रगतिशील तथा पेशागत कानुन व्यावसायी महासंघ (पिपिएलए) र नेकपा (माओवादी केन्द्र) निकट गणतान्त्रिक तथा प्रगतिशील कानुन व्यवाशायी संघ(आरपिएलए)को एकिकरणलाई पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा सम्बोधन गर्दै ओलीले उक्त कुरा बताएका हुन् ।
अध्यक्षबीच फाटो ल्याउन एक अध्यक्ष ले पार्टीको र अर्कोले सरकारको जिम्मेवारी दिनुपर्ने प्रस्ताव आएको बताए । उनले भने, ‘त्यहाँ लडाइँ झगडा लगाउन सकिन्छ कि ? कुर्सी परपर सार्न सकिन्छ कि ? प्रयास त्यो हो ।’ प्रधानमन्त्री ओलीले सफलता तर्फ अघि बढीरहेको सरकारका विरुद्ध अनेक किसिमका दुस्प्रचार गरिएको बताए ।
कम्युनिस्ट पार्टीले बहुमत जनताको अभिमतबाट, बहुमत प्रतिनिधिले अनुमोदन गरेर बनाएको सरकारलाई केही केहीलाई प्रिय नलाग्ने भए पनि यसले आम जनताको हितमा नै काम गर्ने उनको भनार्इ थियो । ‘प्रचार युद्धमा गणतन्त्रका धरोहरहरुलाई आक्रमण गरिएको छ । राष्ट्रपतिका विषयमा अनावश्यक दुस्प्रचार छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो कुनै व्यक्ति विशेष नभएर गणतन्त्रलाई नै धराशायी बनाउने योजनामा केन्द्रित छ ।’
दुई संगठनको एकीकरणबाट नेपाल कानुन व्यावशायी संगठन (एनएलए) को गठन गरिएको छ । संगठनको संयोजकमा रुद्र नेपाल र सहसंयोजकमा दिनमणी पोख्रेल सहित ४५ सदस्यीय समिति चयन भएको छ ।
प्रकाशित समय १७:४७ बजे

















