गृहपृष्ठ एकताको सन्देश फैलाउन कांग्रेस नेतृत्वलाई नेताहरुको ध्यानाकर्षण
एकताको सन्देश फैलाउन कांग्रेस नेतृत्वलाई नेताहरुको ध्यानाकर्षण
नेपाली कांग्रेसका नेताहरुले महासमिति बैठकले प्रस्तुत गरेको एकताको सन्देशलाई तल्लो तहसम्म लैजाने नेतृत्वको ध्यानाकषर्ण गराएका छन् । पार्टीलाई जीवन्त र कार्यकर्तामा उत्साह सञ्चार गराउन यस्तो गर्नुपर्ने कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा नेताहरुले धारणा राखेका हुन् ।
कार्यकर्ताहरुलाई गुटको आधारमा नभई सम्मानपूर्ण व्यवहार र न्यायपूर्ण अवसर प्रदान गर्नुपर्नेमा उनीहरुको जोड छ । कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा लिखित प्रस्ताव पेश गर्दै केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले कार्यकर्तासँगको सम्बाद र सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्नेमा जोड दिए । पार्टीलाई जीवन्त र कार्यकर्तामा उत्साह सञ्चार गराउन आवश्यक रहेको भन्दै नेता जोशीले ११ बुँदे प्रस्ताव पेश गरेका छन् ।
जसमा पार्टीका भातृ र शुभेच्छुक संघहरुको महाधिवेशन समयै गर्नेदेखि पार्टीको महाधिवेशन पनि विधानमा उल्लेख भएको समयमै गर्न सुझाइएको छ । त्यस्तै महासमिति बैठकमा प्रस्तुत भएको भावना अनुसार समावेशी आधारमा एक तहमा एकपटक मात्र अवसर प्रदान गर्न र केन्द्रीय सदस्य क्षेत्रीय प्रतिनिधिका रुपमा रहने र महाधिवेशन प्रतिनिधिका लागि चुनाव लड्नुपर्ने व्यवस्था मिलाउन उनेले आग्रह गरेका छन् ।
यस्तै, बैठकले नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले दिएको राजीनामा स्वीकृत गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंगलबार दिउँसो २ बजे पुनः बस्नेछ ।
प्रकाशित समय १९:२३ बजे

















