गृहपृष्ठ पहिलो पटक चीनबाट आयो ईन्टरनेट
पहिलो पटक चीनबाट आयो ईन्टरनेट
काठमाडौं–चिनियाँ ईन्टरनेट पहिलो पटक नेपाल भित्रिएको छ । नेपाल टेलिकमले चाइना टेलिकम ग्लोबलसँग ईन्टरनेट किनेर नेपाल ल्याएको हो । केरुङ नाकाबाट नेपालमा ईन्टरनेट भित्र्याएको हो । भारतबाहेक अर्को मुलुकबाट नेपालमा ईन्टरनेट भित्रिएको यो पहिलो पटक हो ।
चीनबाट ईन्टरनेट भित्र्याउने पहल एक दशकभन्दा अघिदेखि नै थालिए पनि दुई वर्षअघिको भारतीय नाकाबन्दीपछि यसले तिव्रता पाएको थियो । यसअघि टेलिकमले तातोपानी नाकाहुँदै चाइना टेलिकम्युनिकेसन कर्पोरेशनसँग ईन्टरनेट खरिदको प्रक्रिया सुरु गरेको थियो । तर, भूकम्पपछि तातोपानी नाका वरपरका पूर्वाधारमा क्षति पुगेको भन्दै केरुङ नाकाबाट ईन्टरनेट भित्र्याइएको हो ।
नेपाल टेलिकमले अहिले तीन भारतीय कम्पनीसँग तीन नाकाबाट ईन्टरनेट भित्र्याइरहेको छ । टेलिकमले भारतको बीएसएनएल, टाटा र एयरटेलसँग वीरगञ्ज, विराटनगर र भैरहवा नाकाबाट २२ जिबीपीएस ईन्टरनेट व्याण्डवीथ भित्र्याइरहेको छ । चिनियाँ कम्पनीबाट तत्काल १ दशमलब ५ जिबीपीएस व्याण्डवीथ किनिएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।
‘सुरुवाति चरणमा यति मात्रै व्याण्डवीथ भित्र्याइएको हो,’ वैद्यले भनिन्,‘नेपालमा ईन्टरनेटको प्रयोग र माग बढ्दो छ त्यसैले आगामी दिनमा बढी व्याण्डवीथ खपत हुनसक्छ ।’ वैद्यले भारत र चीनसँग खरिद हुने ईन्टरनेटको मूल्यमा हुने भिन्नता भने खुलाइनन् । उनले टेलिकमलको चीनबाट भित्रिएको ईन्रटेनट टेलिकमलको नेटवर्कमा जोडिएर प्रयोगकर्तामाझ पठाइने जानकारी दिइन् ।
काठमाडौंमा शुक्रबार सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले टेलिकम र चाइना टेलिकम ग्लोबलबीचको क्रसबोर्डर अप्टिकल फाइबर लिंकको उद्घाटन गरे ।
नेपालमा चीनबाट ईन्टरनेट भित्र्याउन २०६० सालदेखि नै पहल भएको हो । तत्कालिन सरकारले चीनसँग गरेको आर्थिक तथा प्राविधिक सम्झौतामा ईन्टरनेट भित्र्याउने पूर्वाधार तयार पार्ने सहमति भएको थियो । सोहीअनुसार काठमाडौंदेखि चीनको खासासम्म १ सय ५५ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने काम सकिएको थियो ।
टेकिमल र चिनियाँ पक्षबीच त्यसपछिका पूर्वाधार निर्माण र मर्मतसम्बन्धी सम्झौता भइसकेको अवस्थामा दुई वर्षअघि आएको भूकम्पले अप्टिकल फाइबरमा क्षति पुगेको भन्दै केरुङहुँदै काठमाडौं ईन्टरनेट भित्र्याउने काम सुरु भएको हो ।
नेपाल र चीनबीचको अन्तरदेशीय अप्टिकल फाइबर लिंकको उद्घाटन गर्दै मन्त्री बस्नेतले यसलाई ईन्टरनेट विस्तारका लागि कोशेढुंगाको संज्ञा दिए । कार्यक्रममा बोल्दै टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले चीनरुटमार्फत ईन्टरनेट भित्रिएसँगै टेलिकमको सेवा बढी विश्वसनीय हुने बताइन् ।
चाइना टेलिकमल ग्लोबलका प्रतिनिधि वाङ योङलिनले अन्तरदेशीय फाइबल लिंक केबुलमार्फत नेपाल ईन्टरनेटको लागि हङकङहुँदै अन्य देशसँग जोडिन सक्ने बताए ।
नेपाल टेलिकमले ईन्टरनेट खरिद गरेको चाइना ग्लोबल लिमिटेड सरकारी स्वामित्वको चाइना टेलिकम्युनिकेशन कर्पोरेशन लिमिटेडको सहायक (सब्सिडियरी) कम्पनी हो । चाइना ग्लोबलले चाइना बाहेकका देशमा ईन्टरनेट विस्तारको काम गर्दै आएको छ । यसले आफ्ना अन्य कम्पनीमार्फत ३१ देशमा ईन्रनेटसम्बन्धी सेवा दिइरहेको छ ।
प्रकाशित समय ०८:०२ बजे