गृहपृष्ठ भयावह बन्दै इटलीमा कोरोना संक्रमण, एक दिनमा अहिलेसम्मकै सबैभन्दा बढीको मृत्यु

भयावह बन्दै इटलीमा कोरोना संक्रमण, एक दिनमा अहिलेसम्मकै सबैभन्दा बढीको मृत्यु

सेनाको सहयोगमा हिँडडुल गर्न थप कडाई गरिँदै

इटालीको बोलोग्नास्थित एक सुपरमार्केटमा पालो पर्खिरहेका मानिसहरू ।

कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित देखिएको यूरोपेली मुलुक इटलीमा भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि त्यहाँको सरकारले थप कडाई गर्ने बताएको छ ।

एकै दिनमा संक्रमणका कारण मृत्यु हुनेको संख्या शनिबार ६२७ पुगेपछि सरकारले नागरिकहरूलाई उनीहरूकै घरहरूमा राख्नका लागि सेनाको सहयोग लिन लागेको बताएको छ । शुक्रबारदेखि शनिबारसम्मको २४ घण्टाको समयमा इटलीमा एकै दिनमा अहिलेसम्ममा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको हो ।

इटलीको उत्तरी क्षेत्र खासगरी कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र हो ।  सहयोगका लागि पुगेको चिनियाँ स्वास्थ्य टोलीले नागरिकलाई हिँडडुलमा रोक लगाउने काम कडा नभएका कारण संक्रमण फैलिने क्रम जारी रहेको बताएपछि प्रशासनले सेनाको सहयोगमा नागरिकहरूलाई घरभित्र सीमित रहने व्यवस्था गरेको छ ।

लोम्बार्डीमा नागरिकहरू हतास भएका दृष्यहरू देखिएको अमेरिकी समाचार संस्था सीएनएनले उल्लेख गरेको छ । अस्पतालहरूमा हजारौँ व्यक्ति संक्रमित भएको आशंकामा भीड लागेपछि उपचार सेवाको उचित प्रबन्ध मिलाउन जटिलता देखिएको सीएनएनले बताएको छ ।

स्वास्थ्यकर्मीको अनुरोधमा प्रभावित क्षेत्रलाई लकडाउन (बन्द ) गर्न सेना प्रयोग गर्न गरिएको अनुरोधलाई सरकारले स्वीकार गरेको लोम्बार्डीका प्रशासन प्रमुख एटिलियो फोन्टानाले बताए ।

उनले लोम्बार्डी क्षेत्रमा ११४ सैनिक परिचालन गरिएको र आवश्यकताअनुसार यो संख्यालाई बढाइने बताए । इटलीमा सबैभन्दा पहिले लोम्बार्डीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

उनले भने, ‘उपचारका कारण यो सातासम्ममा सङ्क्रमित घट्ने अपेक्षा गरिए पनि सङ्क्रमितको संख्या नियन्त्रणमा आउन नसके पनि यहाँ पहिलेको तुलनामा नयाँ बिरामीको सङ्ख्यामा कमी आउन थालेको छ तर मृत्युदर भने बढेको छ ।’

इटालीमा शनिबारसम्म ४ हजार ३२ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ भने ४७ हजारभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ । विगत २४ घण्टामा इटलीमा करिब छ हजार थप व्यक्तिमा संक्रमण पुष्टि भएको छ । (रासस)

प्रकाशित समय १९:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु