गृहपृष्ठ सिण्डिकेट विरुद्ध सरकार : कोटेश्वर पूर्वको रुट ईजाजत लिन आह्वान

सिण्डिकेट विरुद्ध सरकार : कोटेश्वर पूर्वको रुट ईजाजत लिन आह्वान

काठमाडौं । काठमाडौंस्थित कोटेश्वरपूर्वका १० वटा समितिले अरनिको राजमार्गमा बस संचालन नगरेपछि सरकारले अन्य व्यवसायीहरुलाई धुलिखेलसम्मको रुट इजाजत लिन आउन आह्वान गरेको छ ।
यातायात व्यवस्था विभागले अरनिको राजमार्ग अन्तरगतको धुलिखेलसम्मको रुट इजाजत लिन आउन यातायात व्यवसायीहरुलाई बुधबार आह्वान गरेको हो । यस रुटमा चल्ने धेरैजसो यातायात सेवा समितिले बस संचालन गर्न अटेर गरेपछि अन्य यातायात संचालकहरुलाई पनि धुलिखेलसम्मको रुट इजाजत लिन आह्वान गरिएको विभागका निर्देशक तुलसीराम अर्यालले जानकारी दिनु भयो । विभागले यातायात सेवालाई गुणस्तरीय र भरपर्दो सेवा उपलब्ध गराउन पनि सबै यातायात व्यवसायीहरुलाई सचेत गराएको छ ।

अत्यावश्यक सार्वजनिक यातायात सेवा संचालन नगरेपछि विभागले काठमाडौं उपत्यकामा चलिरहेका अन्य यातायात व्यवसायी समितिहरुलाई धुलिखेलसम्मको रुट इजाजत दिने निर्णय गरेको हो । मयूर यातायातलाई काठमाडौं– बनेपा रुटमा बस चलाउने अनुमति दिएपछि यस रुट भएर चल्ने यातायात समितिहरुले ग्रामिण र सहरी दुवै क्षेत्रमा बस नचलाउने चेतावनी दिएका हुन । यातायात व्यवसायीहरुले यातायात सेवा संचालनमा नल्याउँदा यस क्षेत्रका सेवाग्राही मारमा परेका छन । विभागले रुट इजाजत लिने तर सेवा नदिने त्यस्ता यातायात व्यवसायीहरुको रुट इजाजत खारेज गर्ने चेतावनी समेत दिएको छ । कानुन बमोजिम यातायात सेवा निरन्तर संचालनमा नल्याए त्यस्ता यातायाताको रुट इजाजत खारेज हुने पनि विभागका निर्देशक अर्यालले चेतावनी दिए ।
विभागले सवारी तथा यातायात व्यवस्था ऐन अनुसार रुट इजाजत लिएका सवारी साधनहरु संचालनमा नआए इजाजत खारेज हुनेतर्फ यातायात व्यवसायीहरुलाई सचेत गराउदै आएको छ । विभागका निर्देशक अर्यालले कानुनको पालना गर्न पनि यातायात व्यवसायीहरुलाई सचेत गराए ।

प्रकाशित समय १४:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु