गृहपृष्ठ पत्रकार महासंघको प्रदेश निर्वाचन : कर्णालीमा ‘बागी’ उम्मेद्वारको ‘बिगबिगी’
पत्रकार महासंघको प्रदेश निर्वाचन : कर्णालीमा ‘बागी’ उम्मेद्वारको ‘बिगबिगी’
सुर्खेत । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको पहिलो प्रदेशस्तरीय समितिका लागि उम्मेदवारी दर्तामा रडाको मच्चिएको छ । राजनीतिक दल समर्थित पत्रकारका संगठन प्रेस चौतारी, प्रेस सेन्टर र प्रेस युनियनले केन्द्रबाटै तालमेल गरेर कर्णालीमा उम्मेदवार उठाउने निर्णय गरेका थिए ।
जसअनुसार नेकपा एमाले समर्थित प्रेस चौतारीले अध्यक्ष, सचिव र कोषाध्यक्ष, नेकपा माओवादी केन्द्र समर्थित प्रेस सेन्टरले महासचिव र समावेशी सचिव तथा नेपाली कांग्रेस समर्थित प्रेस युनियनले उपाध्यक्ष लिने गरी पदाधिकारीमा भागवण्डा भएको थियो ।
तर संगठनमा आवद्ध कतिपय पत्रकारले भने बागी उम्मेदवारी दिएका छन् । समावेशी सचिव र महिला उपाध्यक्षबाहेक अन्य पदमा बागी उम्मेदवारी परेको छ । अरुलाई सहमतीमा ल्याउन दबाव दिने पत्रकारका संगठनमै आन्तरिक विवाद देखिएपछि २१ सदस्यीय समितिका लागि ३० जनाको उम्मेदवारी परेको छ ।
आइतवार साँझमात्रै प्रेस चौतारी संयोजक वीरबहादुर गिरी, सेन्टर संयोजक ध्रुव वुढाथोकी र युनियनका राजेन्द्र कार्कीसहितको संयुक्त वैठकले केन्द्रको सर्कुलर विपरित परेका उम्मेदवारीलाई तत्काल फिर्ता लिन निर्देशन दिएको थियो । तर उक्त निर्देशनलाई कसैले पनि टेरेका छैनन् । बरु जसरी पनि चुनाव हुनुपर्ने उनीहरुको माग रहेको छ ।
प्रेस चौतारीका तर्फबाट आधिकारीक उम्मेदवार दुर्गा थापाका विरुद्ध चौतारीकै विष्णुप्रसाद शर्मा र सेन्टरका टेकबहादुर वलीको उम्मेदवारी परेको छ । उपाध्यक्षमा युनियनका आधिकारीक उम्मेदवार कमल पन्तविरुद्ध सेन्टरका धर्मराज जिसीको उम्मेदवारी परेको छ । तर महिला उपाध्यक्षमा सेन्टरका डम्मर कुमारी आचार्य एक्लैको उम्मेदवारी परेको छ । सेन्टरबाट महासचिव पदका उम्मेदवार दिपेन्द्र शर्मा विरुद्ध युनियनका शुसिल शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।
चौतारीबाट कोषाध्यक्षका उम्मेद्वार सुरेन्द्र खत्रीविरुद्ध सेन्टरका लोकेन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । सचिवमा चौतारीका दिपक बुढा, पवित्र शाही, यज्ञराज थापा र युनियनका प्रकाश उपाध्यायले उम्मेदवारी दर्ता गराएका छन् । समावेशी सचिवमा गणेश शेर्पालीको एकल उम्मेदवारी परेको छ । सदस्यमा १५ जनाको उम्मेदवारी परेको बताइएको छ ।
प्रकाशित समय १९:०५ बजे