गृहपृष्ठ वीरेन्द्रनगर देखाउने ‘ऐना’ जर्वुटा ओझेलमा

वीरेन्द्रनगर देखाउने ‘ऐना’ जर्वुटा ओझेलमा


सुर्खेत । कर्णालीको राजधानी वीरेन्द्रनगरलाई एकै स्थानबाट अवलोकन गर्ने ठाँउ कुन होला ? उत्तर हुन्थ्यो गढी, छेडा…तर त्यो भन्दा झनै नजिक र पुरै वीरेन्द्रनगर अवलोकन गर्न सकिने स्थान जर्वुटा हो । लप्सि, केरा, कागती, काफल, बाँस, अर्गानिक खाद्यबालीको उत्पादन हुने उक्त जर्वुटामा धेरै वर्ष पहिले एक हेलिकप्टर समेत आएको स्थानीयको भनाइ छ ।
वीरेन्द्रनगरको नेवारेबाट जम्मा साढे चार किलोमिटरको दुरीमा रहेको जर्वुटामा बसेर वीरेन्द्रनगर नियाल्ने र त्यहाँ पाईने फलफुलहरु खाँदै रमाइलो गर्दा स्वर्गको अनुभूति हुने स्थानीय रक्षा खड्का बताउँछिन् । ‘यहाँ अर्गा्निक उपजहरु उत्पादन हुने र चारैतिरका दृश्य अवलोकन गर्न सहज स्थान भएकोले वीरेन्द्रनगर नगरपालिकाका लागि आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्छ,’ उनले भनिन्, ‘नगरको सहयोगमा बल्ल सडक पुगेको छ, स्थानीय जनप्रतिनिधिप्रति भरोसा लागेको पनि छ, केही विकास होला भन्ने ।’
कर्णालीको राजधानीसमेत भएको वीरेन्द्रनगरको सबैभन्दा नजिकको पर्यटकीय स्थल भएकाले आफूहरुले सबैभन्दा पहिले सडक सञ्जाल पुर्याउन विशेष पहल गरेको सडक निर्माण समितिका अध्यक्ष पार्वती थापाले बताइन् । ‘हिजो उपभोक्ता समितिको अध्यक्ष म बन्दा सडक नखन्न चेतावनी दिइएको थियो । रगतका खोला बगाउने धम्कि आएको थियो,’ विगत सम्झिँदै थापाले भनिन्, ‘अहिले १० वर्षपछि सडकलाई जुर्वटासम्म लैजान सहज भएको छ । अब एक लडाइँ समापन भएको मैले अनुभूति गरेकी छु ।’
वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ का वडाअध्यक्ष लोक प्रसाद चालिसेले वडा कार्यालय जर्वुटा डाँडालाई पर्यटकीय क्षेत्रको रपमा विकास गर्न लागिपरेको बताए । ‘हामीले अहिले बल्ल सडक ल्याएका छौं । आगामी ५ वर्षभित्र यो क्षेत्रलाई दोश्रो मनकामनाको रुपमा विकास गर्ने योजनामा हामी छौं,’ उनले भने, ‘पर्याप्त खानेपानी, अग्र्या्निक उत्पादनहरु छन् । हामीसँग धेरै स्रोत र साधनहरुसमेत छन् ।’ अध्यक्ष चालिसेले सबैभन्दा पहिले जर्वुटाको समग्र विकासको गुरुयोजना बनाउने बताए । ‘हामी पहिले गुरुयोजना बनाउँछौं,’ उनले थपे, ‘त्यसका साथै हामीले नेवारे देखि जर्वुटासम्म केबलकार सञ्चालनबारे अध्ययन समेत गराउनेछौं ।’
कार्यवाहक नगरप्रमुख मोहनमाया ढकालले जर्वुटा आफैमा सुन्दर र मनमोहक ठाँउ भएको बताइन् । ‘यो क्षेत्र अन्य क्षेत्रको तुलनमा राम्रो, फराकिलो र सुविधासम्पन्न रहेछ,’ उनले भनिन्, ‘हामी यो क्षेत्रको विकासका लागि विशेष पहल गर्छौं ।’ कार्यवाहक नगरप्रमुख ढकालले दूध, दही, फलफूलका लागि जर्वुटा राम्रो पकेट क्षेत्र बनाउन सकिनेबारे अध्ययन गर्ने बताइन् । ‘हामी नगरको तर्फबाट यो क्षेत्रलाई पर्यटकीय गन्तब्य बनाउने बारे सक्दो सहयोग गर्नेछौं,’ उनले भनिन्, ‘यसका लागि स्थानीयको थप सक्रियता आवश्यक रहेको छ ।’

किन जाने जर्वुटा ?
वीरेन्द्रनगरदेखि करिब १५ मिनेटमा (गाडीमा) सहजै पुग्न सकिने स्थान हो जर्वुटा । नेवारेदेखि साढे ४ किलोमिटर टाढा रहेको जर्वुटाबाट सुर्खेत उपत्यकाको पुरै अवलोकन गर्न सकिन्छ । जर्वुटाबाट दाहालडाँडा, नयाँ गाउँ, जामुन डाँडा, गरगरे, खोरिया, रानीमत्ता, सिद्धपाइला आदि स्थानहरुको समेत दृश्यवलोकन गर्न पाइन्छ । अझ भन्दा सबैभन्दा उत्कृष्ट त स्वच्छ हावा पाइन्छ ।

प्रकाशित समय १९:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु