गृहपृष्ठ ३ सम्म पढेकाकाे आय छ लाख

३ सम्म पढेकाकाे आय छ लाख

लेकम, दार्चुला – पैसासमेत गन्न नजान्ने एक युवकले वार्षिक रु छ लाख भन्दा बढी कमाइ गरिरहेका छन् भन्ने सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । कक्षा ३ सम्म मात्रै अध्ययन गर्नुभएका दार्चुला लेकम गाउँपालिका–१ सेजालीका गणेश कार्की मौरीपालन व्यवसाय अपनाएर गाउँमै उदाहरणीय बनेका छन् ।

स्नातकोत्तरसम्म पढेर पनि नेपालमा रोजगारी नै पाइँदैन भनेर विदेश पलायन हुन खोज्नेहरुले गणेशबाट सिक्नुपर्छ । पाँच वर्ष अगाडिदेखि व्यावसायिक रुपमा मौरीपालन शुरु गर्नुभएका उहाँले यसै व्यवसायबाट आठ जनाको परिवार सजिलैसँगै पालिरहेका छन् ।

रिड्स नेपाल नामक संस्थाले शुरुमा दुई घार मौरीे उपलब्ध गराएको थियो । त्यही दुई घार मौरीबाट गणेशले ३०० घार मौरी बनाए । अहिले भने उनीसँग ५० घार मात्रै छ । उनले भने- “३०० घार बनाएको भए पनि अरु घार बिक्री गरें । अब ५० घार बाँकी हुन ।”

सेरेना जातका मौरीका लागि उपयुक्त हावापानी, भौगोलिक वातावरण र चरन आवश्यक हुने भएकाले यहाँ मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहेको उनको भनाइ रहेको छ ।

कक्षा ३ सम्म मात्रै पढेका गणेशले स्वदेशमै श्रम बेचेर आफ्नो घरधन्दा चलाइरहेका छन् । “छोराछोरीको पढाइ गर्न कुनै समस्या छैन,” उनले भने- “घरधन्दा चलाउन कसैसँग मुख जोड्नुपरेको छैन ।”

वार्षिक ५० घार जति बिक्री गर्ने गरेको र चार क्विन्टल मह बिक्री गर्ने गरेको उनले बताए । स्थानीय बजारमा मह प्रतिकिलो रु ८०० का दरले बिक्री हुने गरेको छ । उनले भने- “मौरीसहितको घार बिक्री गर्दा प्रति घार रु आठ हजार प्राप्त हुन्छ ।” मौरीपालन व्यवसायबाट उनकाे वार्षिक रु छ लाखभन्दा बढी आम्दानी हुने गरेको छ ।

मौरीपालन गर्दा शुरुमा केही अप्ठेरो आएको भए पनि अहिले आएर कुनै समस्या नभएको अनुभव उनकाे छ । हाल रहेका ५० घार मौरीबाट अबको केही दिनभित्रै २०० घार बनाउने उनको लक्ष्य छ । आउँदो वर्षमा पाँच क्विन्टल मह बिक्री गर्ने सोच बनाएका ४४ वर्षीय गणेशले मौरी पाल्ने मोह नै आफूमा रहेको बताउछन् । उनले भने- “व्यवसाय गर्न उमेर र पढाइ नभएर रोकिँदैन । काम गर्ने इच्छा हुनुपर्छ जाँगर आफैँ आउँछ ।”

उनलाई मह बिक्री गर्न कुनै समस्या छैन । घरमै मह किन्न ग्राहक आउने उनी बताउँछन् । “दार्चुला, बैतडी, डडेल्धुरा तथा छिमेकी राष्ट्र भारतबाट समेत मह किन्न ग्राहक आउँछन्” उनले भने- “मह तथा मौरी घार बिक्री गर्न कुनै समस्या छैन । घरमै आउने गरेका छन् ग्राहक ।”

मौरी एक उपयोगी किरा हो । यो कमिला र बारुलासँग नजिकको सम्बन्ध भएको जीव हो । यसले मह तथा मैन उत्पादन गर्नुका साथै परागसेचनमा पनि ठूलो भूमिका खेलेको हुन्छ । यतिमात्र हैन, मौरीले मानिसको स्वास्थ्य र आर्थिक समृद्धिमा ठूलो योगदान पु¥याएको हुन्छ ।

थोरै लगानीमा वर्षभरि आम्दानी हुने भएपछि यहाँका अरु कृषक पनि मौरीमा लगानी गर्न हौसिएको उनले बताए । मौरी पाल्न खासै अध्ययन आवश्यक नपर्ने उनको अनुभव छ । उनले भने- “हातमा सीप भयो भने मान्छेले जे पनि सक्दो रहेछ, पढाइ नभए पनि ।”

एकान्त ठाउँ मन पराउने मौरीको चरनका लागी चिउरी तथा तोरीको बारी आवश्यक हुन्छ । उनले तोरीबारी नजिकै मौरीका घार राखेका छन् । मौरीले बिरुवाको परागसेचनमा सहयोग पु¥याउने भएकाले वातावरण संरक्षणका लागि पनि फाइदा पुग्ने मौरीपालकको भनाइ छ । यसले किसानको उत्पादन बढाउनसमेत सहयोग गर्छ ।

रासायनिक विषादीको प्रयोग बढ्नुजस्ता कारणले मौरीको चरन क्षेत्र खुम्चिँदै गएको उनको गुनासो छ । उनले भने- “चिसो मौसममा चरन क्षेत्र कम हुने भएकाले चिनीको चास्नी खुवाउने गरेको छु ।”

मौरीपालनसँगै गणेशले तरकारी खेती र बाख्रापालन समेत गरेका छन् । बाख्रापालन र तरकारी खेतीबाट समेत उनले थप आम्दानी गरिरहेका छन् । तरकारी खेतीबाट पनि मात्रै उहाँले वार्षिक रु तीन लाख कमाउँछन् भने बाख्रापालनबाट वार्षिक रु दुई लाख ।

प्रकाशित समय ११:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु