गृहपृष्ठ वसन्तपुरमा क्याफे कफी डेको आउटलेट

वसन्तपुरमा क्याफे कफी डेको आउटलेट

काठमाडौं । भारतीय मल्टिनेसनल कफी ब्रान्ड क्याफे कफी डे (सीसीडी) वसन्तपुरमा एक वर्षको बीचमा दोस्रो आउटलेट सञ्चालनमा ल्याएको छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौंको वसन्तपुर दरबार स्क्वाएर सीसीडीको नयाँ आउटलेट औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
सीसीडीको नेपालमा बजारीकरण गरिरहेको स्ताभ्या इन्टरनेसनलले एक वर्षअघि ललितपुरको कुमारीपाटीमा पहिलो आउटलेट स्थापना गरेको थियो ।
वसन्तरपुर आउटलेटको उद्घाटन विश्व बैंकका नेपाल प्रतिनिधि रशिद रियानले गरेका हुन् । १ करोडभन्दा बढीको लगानीमा सञ्चालनमा आएको यस कफी सपमा कफीका विभिन्न भेराइटीका अलावा फास्टफुड पनि उपलब्ध रहेको छ ।
नेपालमा बढ्दै गएको कफी कल्चरलाई लक्षित गरी भविष्यमा नेपालकै सबैभन्दा ठूलो कफी चेन नेटवर्कका रूपमा स्थापित गर्ने लक्ष्यअनुसार सीसीडीको बजारीकरण गरिरहेको स्ताभ्या इन्टरनेसनलका प्रमुख रवि तेब्रेवालले बताए ।
उनले पछिल्ला केही वर्षमा नेपालमा कफी कल्चर निकै बढेको र सोहीअनुसार स्तरीय कफी ब्रान्ड कमै रहेको अवस्थामा सीसीडी सुरु गरेको बताए ।
दरबारमार्ग र बानेश्वरमा पनि छिट्टै सीसीडीका नयाँ आउटलेट खुल्ने उनले बताए । उपत्यकाबाहिर पोखरा, चितवन, बुटबल, धरान, विराटनगरलगायतका सहरमा राजमार्ग लक्षित गरेर आउटलेट स्थापनाको तयारी भइरहेको पनि उनले बताए ।
भारतबाट सुरु भएको सीसीडीको संसारभर १ हजार ७ सयभन्दा बढी आउटलेट छन् । भारतका प्रायः सबै मुख्य सहरका साथै मलेसिया, सिंगापुर, थाइल्यान्डलगायतका दक्षिण पूर्वी एसिया, युरोप, अफ्रिका र अमेरिकामा पनि यसका आउटलेट रहेका छन् ।

प्रकाशित समय १०:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु