गृहपृष्ठ चालु आर्थिक वर्षमा मात्रै साढे १२ हजार मोबाइल चोरी
चालु आर्थिक वर्षमा मात्रै साढे १२ हजार मोबाइल चोरी
काठमाडौं । मुलुकभर मोबाइल चोरी र हराउनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । सरकारी तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनामा १२ हजार चार सय २९ वटा मोबाइल चोरी भएका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार १० महिनामा दर्ता भएका उक्त चोरीका घटनामध्ये जम्मा २० प्रतिशतमात्र (एक हजार १३ वटा मोबाइल) भेटिएका छन् । महाशाखाका अनुसार सबैभन्दा कम मोबाइल हराएको भदौमा पाँच सय ५२ केस दर्ता भएका छन् भने कात्तिकमा सबैभन्दा बढी दुई हजार तीन सय ७७ वटा मोबाइल ह्यान्ड सेट हराएको रिपोर्ट आएको छ ।
हराएको मोबाइलमा सिम कार्ड प्रयोग भएको छ भने त्यो मोबाइल कहाँ प्रयोग भएको छ भनेर थाहा पाउन सकिन्छ । तर सिम प्रयोग भएको छैन भने भेट्न नसकिने प्रहरीको भनाइ छ । त्यसैगरी, कुनै मोबाइल सेटलाई नेटवर्कभन्दा बाहिर अथवा भारतमा लगेर बेच्ने गरेकाले पनि खोजी गर्न अप्ठेरो परेको प्रहरीले बताएको छ ।
त्यस्तै, मोबाइल सेटमा विभिन्न पार्टपुर्जालाई छुट्टाछुट्टै प्रयोग गर्दा पनि मोबाइल नभेटिने गरेको प्रहरीको अध्ययनले देखाएको छ । प्रहरीले सकेसम्म सेकेन्ड ह्यान्ड मोबाइल सेट किन्दा बिक्रेता पहिचान गरेर मात्र प्रयोग गर्न अनुरोध गरेको छ । जो पायो त्यसैसँग किन्दा चोरी भएको मोबाइल पर्न सक्ने सम्भावना रहन्छ ।
प्रकाशित समय १०:३५ बजे