गृहपृष्ठ मुटु रोगीलाई जापानमा बस्ने नेपालीको सहयोग
मुटु रोगीलाई जापानमा बस्ने नेपालीको सहयोग
भोजपुर सिस्नेरीकी २६ वर्षीया मुटु रोगी गोमा श्रेष्ठलाई जापानमा बस्ने नेपालीहरुले १ लाख ३० हजार रुपैयाँ सहयोग गरेका छन् । जापानमा बस्ने योगेन्द्र खत्रीको पहलमा ४० जना नेपालीले मुटु रोगी गोमाको उपचारका लागि एक लाख ३० हजार ६ सय ६२ रुपैयाँ संकलन गरी पठाएका थिए । हालै जापानबाट फर्किएकी समाजसेवी शुसीला खत्रीले ललितपुरस्थित गोमाको डेरामै पुगेर सहयोग रकम हस्तान्तरण गरिन् ।
गोमाका श्रीमान दीपेन्द्र श्रेष्ठ दैनिक मजदुरी गर्ने गर्दछन् । श्रीमतीलाई मुटु रोग लागेर खर्च हुन थालेपछि उनीहरुलाई दैनिक गुजारा चलाउनसमेत समस्या भएको छ । मुटु रोगकै कारण विवाह गरेको ७ वर्षसम्म उनीहरुले सन्तान जन्माएका छैनन् । काठमाडौँको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा असोज २२ गते मुटुको भल्भ नली काटेर शल्यक्रिया गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् । शल्यक्रिया गर्न कम्तीमा २ लाख रुपैयाँ आवश्यक परे पनि रकम अभावले हुन सकेको छैन । आफ्नो आर्थिक क्षमताले नभ्याउने भएपछि गोमाका दाजु विकास श्रेष्ठ र श्रीमान दीपेन्द्रले सहयोगका लागि आह्वान गरेका थिए ।
जापानमा विभिन्न पेशा, व्यवसाय तथा रोजगारी गर्दै आएका नेपालका विभिन्न जिल्लाका सहयोगीहरुले स्वास्थ्य लाभको कामनासहित आर्थिक सहयोग गरेपछि आफूहरुलाई निकै सहज महशुस भएको गोमाका श्रीमान दीपेन्द्रले बताए । ‘उहाँहरुको सहयोगले मेरी श्रीमतीले नयाँ जीवन पाउने छिन्,’ दीपेन्द्रले भने, ‘सहयोगी मनप्रति हामी धेरै–धेरै आभारी छौँ ।’
सहयोग गर्ने नेपालीहरुको नाम यो लिस्टमा छ ।
तस्बिर : सुनिल प्रधान
प्रकाशित समय १३:०५ बजे