गृहपृष्ठ कर्णाली प्रदेशको हिउँदे अधिवेशनमा १३ विधेयक पेश हुँदै
कर्णाली प्रदेशको हिउँदे अधिवेशनमा १३ विधेयक पेश हुँदै
शुक्रबारदेखि सुरु हुने कर्णाली प्रदेशको हिउँदे अधिवेशन अवधिभर एकदर्जन बढी विधेयक पेश हुने भएका छन् । अधिवेशन अवधिभर १३ वटा विधेयक संसद बैठकमा पेश हुने भएका हुन् ।
कर्णाली प्रदेशसभाका सचिव जिवराज बुढाथोकीका अनुसार बजेट अधिवेशनजस्तो सरकारलाई काम नभए पनि विधेयकको काम यो अधिवेशनमा हुनेछ । बैठकको मुख्य एजेण्डाको रुपमा विधेयक रहे पनि विभिन्न अवधिमा सांसदहरुले नागरिकको आवाजसमेत उठाउने उनले बताए ।
कर्णाली प्रदेशसभाको १३ वटा सम्भावित विधेयकहरुमा ३ वटा मन्त्रालयका विधेयक रहेको उनले जानकारी दिए । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका ५ वटा, सामाजिक विकास मन्त्रालयका ३ वटा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका ५ वटा दर्ता हुने सम्भावित विधेयक हुन् ।
कर्णाली प्रदेश जलचर विधेयक २०७६, जीवनाशक विषादी नियन्त्रक विधेयक २०७६, कृषि तथा पशुपक्षीजन्य व्यवसाय प्रवद्र्धन विधेयक २०७६, माटो तथा मल व्यवस्थापन विधेयक २०७६ र पशु वधशाला तथा मासु जाँच विधेयक २०७६ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत आउने उनले बताए ।
त्यस्तै , सामाजिक विकास मन्त्रालयमातहत आउने तीनवटा विधेयकमा प्रदेश युवा परिषद्को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६, बालबालिकाको अधिकार संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ रहेका छन् ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतका पाँचवटा विधेयकमा कर्णाली प्रदेश वातावरण संरक्षणसम्बन्धी विधेयक २०७६, कर्णाली प्रदेश वनसम्बन्धी विधेयक २०७६, कर्णाली प्रदेश वाणिज्यसम्बन्धी विधेयक २०७६, कर्णाली प्रदेश औद्योगिक व्यवसायसम्बन्धी विधेयक २०७६ र कर्णाली प्रदेश पर्यटनसम्बन्धी विधेयक २०७६ रहेको उनले जानकारी दिए ।
अधिवेशन अवधिमा के गर्ने भन्ने विषयमा विभिन्न समितिका अध्यक्षसँग बैठक बसी छलफलसमेत गर्ने बुढाले बताए । बैठकमा भने दलको तर्फबाट दलका एक/एक जना नेताले बोल्ने तयारी भएको उनले बताए । ‘बैठक तीनबजे सुरु हुँदैछ । अधिवेशनको पहिलो दिन भएकाले खासै एजेण्डा छैनन्,’ उनले भन ।
उनले कार्यव्यवस्था समितिको बैठक आगामी २९ गते बस्ने र अधिवेशनको दोस्रो बैठक भने फागुन १ गते बस्ने तयारी भएको उनले जानकारी दिए । बुढाले केही विधेयकहरु विचाराधीन अवस्थामा रहेको समेत जानकारी दिए ।
प्रकाशित समय १९:०३ बजे

















