गृहपृष्ठ वालुवा-गिट्टी ठेकेदारद्वारा नगरपालिका कार्यालयमा तालाबन्दी
वालुवा-गिट्टी ठेकेदारद्वारा नगरपालिका कार्यालयमा तालाबन्दी
सांकेतिक तस्बिर
वालुवा गिट्टी निकाल्न पाउनुपर्ने भन्दै ठेकेदारहरुले धनुषाको गणेशमान चारनाथ नगरपालिकामा ताला लगाइदिएका छन् । निर्माण व्यवसायी तथा ठेकेदारहरुले अनिश्चितकालीन तालाबन्दी गरेपछि नगरपालिकाको कामकाज प्रभावित भएको छ ।
नगर प्रमुख रामबाबु यादव र प्रहरीले अनावश्यक दुःख दिएकाले तालाबन्दी गर्नुपरेको ठेकेदारहरुले बताएका छन् । नगरपालिका र मिथिला कन्स्ट्रक्सनबीच कमला खोलाबाट वालुवा तथा ढुंगा उत्खननका लागि वार्षिक ६० लाखमा सम्झौता भएको थियो । सम्झौताअनुसार ठेकेदारहरुले प्रत्येक दिन नगरपालिकामा ४० हजार रुपैयाँ बुझाउनुपर्ने सहमति भएको छ ।
समयमै किस्ता बुझाउन नगरपालिकाले ताकेता गरेपछि ठेकेदारहरुले तालाबन्दी गरेको नगर प्रमुख यादवले बताए । ‘ठेकेदारहरुले समयमा किस्ता नबुझाएपछि समयमा किस्ता रकम बुझाउन ताकेता गरेका थियौँ । त्यसैको बहाना बनाएर निर्माण व्यवसायीहरुले तालाबन्दी गरेका हुन्,’ मेयर यादवले भने ।
नगरपालिकाको वडा नम्बर ५ चिसापानी र सिरहाको कर्जन्हा १ स्थित कमला खोलामा ढुंगा, बालुवा लोड गरिरहेको जेसीभीसहित ४ जनालाई इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको टोलीले नियन्त्रणमा लिएपछि तालाबन्दी गर्नु परेको ठेकेदारहरुको भनाइ छ । सम्झौताबमोजिम ठेक्का रकमसमेत बुझाई सकेकाले काम गर्न नदिए रकम फिर्ता गर्नुपर्ने ठेकेदारहरुको माग छ ।
प्रकाशित समय १८:४६ बजे

















