गृहपृष्ठ ५० हजारले छाडे पोखरा, मुख्य चोकहरू सुनसान (फोटोफिचर)

५० हजारले छाडे पोखरा, मुख्य चोकहरू सुनसान (फोटोफिचर)

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । आइतबार बसेको सर्वपक्षीय बैठकबाट पोखरा महानगरपालिकाले पनि चैत २१ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।

शैक्षिक संस्था, कार्यालय, लामो दुरीका यातायात सेवासमेत बन्द भइसकेका छन् । विद्यालय र कार्यालयहरु बन्द हुँदा फुर्सदिला बनेका सर्वसाधारणहरु धमाधम गाउँतिर लागिरहेका छन् । कोरोना भाइरसका कारण त्रास बढेसँगै बजारमा कृत्रिम अभाव सिर्जना भइरहेको हुँदा पनि मानिसहरु गाउँतिर लाग्ने क्रम जारी छ ।

अहिलेसम्म पोखरा छाड्नेहरुको संख्या झन्डै पचास हजार पुगेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख इन्स्पेक्टर सन्तोष रोकाले बताए । उनका अनुसार शुक्रबारयता तीन दिनभित्र पोखराबाट साना-ठूलासहित १६ सय सवारीसाधन बाहिरिएका छन् । पोखराका विभिन्न नाकाहरु छोरेपाटन, जहुँबारी, तालचोक हुँदै मानिसहरु बाहिरिने क्रम जारी रहेको उनले बताए ।

पोखरा भित्रिने मानिसहरुको संख्या भने न्यून छ । पोखराका पृथ्वीचोक, न्यूरोड, महेन्द्रपुल, पालिखेचोक, चाउथे लगायतका माानिसको चहलपहल बढी हुने स्थानहरु सुनसान छन् । सरकारले २५ जनाभन्दा बढी जमघट नहुन आग्रह गरेसँगै मानिसहरुको चहलपहल घटेको हो ।

कुनै पनि अफवाहको पछि नलाग्न, आवश्यक सचेतना अपनाउन, भीडभाडमा नजान, खाद्यन्न, ग्यास, पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना नगर्न/नगराउन तथा संक्रमण रोकथामका लागि सबैले हातेमालो गर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

प्रकाशित समय १४:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु