गृहपृष्ठ नेपालमै पहिलोपटक हेल्थडेस्क राखेकाले कर्णालीमा कोरोना भित्रिन पाएन : मुख्यमन्त्री शाही
नेपालमै पहिलोपटक हेल्थडेस्क राखेकाले कर्णालीमा कोरोना भित्रिन पाएन : मुख्यमन्त्री शाही
लकडाउनलाई प्रभावकारी बनाउन सुरक्षा प्रमुखहरुलाई निर्देशन
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणको लागि नेपालमै पहिलोपटक हेल्थडेस्क राखिएको कारण कोरोना भित्रिन नपाएको दावी गरेका छन् ।
आइतबार भएको प्रदेशस्तरीय संकट नियन्त्रण केन्द्रको बैठकमा उनले कर्णालीले अपनाएको उच्च सतर्कताको कारण कर्णालीमा संक्रमण भित्रिन नपाएको बताए । उनले कोरोना भाइरस संक्रमण नेपालमा दोस्रो चरणमा पुगेकाले त्यसको रोकथाम तथा नियन्त्रणको तयारीलाई तीव्रता दिन निर्देशन दिए । यसका लागि वडास्तरमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकको एकीकृत टोली तयार गर्नुपर्ने उनले बताए ।
लकडाउनपछि लुकीछिपी विदेशबाट गाउँमा पुगेकाहरूबाट संक्रमणको जोखिम रहेकाे उनले बताए । ‘बाहिरी मुलुकबाट गाउँमा पुगेका नागरिकको नमूना संकलन गरेर परीक्षण कार्यलाई तीव्रता दिनुपर्छ । यसका लागि वडास्तरमा टाेली बनाइ प्रभावकारी रूपले परिचालन गर्नुपर्छ,’ उनले भने ।
एकीकृत टोलीले सेल्फ क्वारेन्टाइनमा रहे/नरहेको अनुगमन गर्ने, एक घरबाट अर्को घरमा हुने आवतजावतलाई कडाई गर्ने, खाद्यान्नको अभाव भएका परिवारमा त्यसकाे आपूर्ति व्यवस्था मिलाउने शंकास्पद बिरामीको स्वाब संकलनमा सहयोग गर्नुपर्ने उनले बताए ।
मुख्यमन्त्री शाहीले प्रदेशका नागरिकको सुरक्षाको जिम्मेवारीप्रति संवेदनशील हुन आग्रह गर्दै बल प्रयोग गरेर भए पनि लकडाउनलाई प्रभावकारी बनाउन सुरक्षा प्रमुखहरुलाई निर्देशन दिए । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई संक्रमणबाट जोगाउन व्यक्तिगत सुरक्षा सामग्रीकाे व्यवस्था गरिरहेको र अपुग सामग्री आपूर्तिको लागि सामाजिक विकास मन्त्रालयमार्फत काम भइरहेको उनले जानकारी दिए ।
प्रकाशित समय १८:१६ बजे

















