गृहपृष्ठ भारतीय क्वारेन्टिनमै किरिया बसेका भट्टका लागि बल्ल खुल्यो महाकाली पुलको ढोका
भारतीय क्वारेन्टिनमै किरिया बसेका भट्टका लागि बल्ल खुल्यो महाकाली पुलको ढोका
भारतको धार्चुलास्थित बलुवाकोट शिविरको क्वारेन्टिनमै किरिया बसेका दार्चुलाका ३४ वर्षीय बासुदेव भट्ट नेपाल फर्किएका छन् । घरमा आमाको निधन भए पनि लकडाउनका बेला सीमा बन्द हुँदा उनी भारतीय क्वारेन्टिनमै आमाको किरिया बसेका थिए ।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी तेजसिंह कुँवरका अनुसार आइतबार २ बजेतिर भट्टलाई नेपाल ल्याइएको हो । भारतीय सुरक्षा अधिकारीले किरियापुत्री भट्टलाई महाकाली पुलको ढोका खोलेर नेपाली समकक्षीसमक्ष हस्तान्तरण गरेका हुन् ।
गत फागुनमा मजदुरी गर्न भारत पुगेका भट्ट लकडाउनपछि उतै अलपत्र परेका थिए । दार्चुला शैल्यशिखर नगरपालिका- १ स्थित घरमा उनकी आमाको गत मंगलबार साँझ हृदयघातका कारण निधन भएको थियो ।
भट्टलाई नेपाल ल्याउने प्रक्रियागत ढिलाइका कारण पाँच दिनपछि मात्र उनी नेपाल आउन पाएका हुन् । भट्टको र्यापिड टेस्टपछि प्रहरीले घर पुर्याइदिने सहायक प्रजिअ कुँवरले जानकारी दिए ।
प्रकाशित समय १६:२७ बजे

















