गृहपृष्ठ सुदूरपश्चिममा ८ हजारको नमूना परीक्षण, १० जना आइसोलेसनमा

सुदूरपश्चिममा ८ हजारको नमूना परीक्षण, १० जना आइसोलेसनमा

सुदूरपश्चिमबाट संकलन गरिएका ७ हजार ७ सय ९८ जनाको नमूना स्वाबको पीसीआर र र्‍यापिड टेस्ट विधिमार्फत कोरोना परीक्षण गरिएको छ । यसमध्ये ८० जनाबाहेक सबैको रिपोर्ट आइसकेको छ ।

प्रदेश स्वास्थ्य आपतकालीन केन्द्रंका अनुसार शनिबारसम्म पीसीआर प्रविधिबाट २ हजार ४ सय ९५ र र्‍यापिड टेस्टमार्फत ५ हजार ३ सय ३ को गरी अहिले सम्म सात हजार सात सय ९८ जनाको कोरोना परीक्षण भएको हो ।

प्रदेशबाट र्‍यापिड टेस्ट गरिएका एक जनाबाहेक सबैको रिपोर्ट नेगेटिभ आएको छ भने पीसीआर प्रविधिबाट परीक्षण गरिएका ५ जनाबाहेक सबैका रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य आपतकालीन केन्द्रले जनाएको छ । डडेल्धुरामा १० जनाको र्‍यापिड टेस्ट गर्दा एक जनाको रिपोर्ट पोजेटिभ आएकोमा ति व्यक्तिको समेत पीसीआर प्रविधिबाट परीक्षण गर्दा नेगेटिभ आएको छ ।

जसअनुसार सुदूरपश्चिममा पछिल्लो पाँच दिनयता कोरोना संक्रमितको संख्या बढेको छैन । सुदूरपश्चिममा अहिलेसम्म सबैभन्दा बढी प्रदेशको राजधानी कैलालीमा २ हजार ७ सय ४६ जनाको र्‍यापिड टेस्ट गरिएको छ । यस्तै कञ्चनपुरमा ४ सय ६८, बैतडीमा २ सय ५, दार्चुलामा ३ सय २४, डडेल्धुरामा ११, डोटीमा ६ सय ७९, बझाङमा ४ सय ८६, अछाममा २ सय २१ र बाजुरामा १ सय ६३ जनाको र्‍यापिड टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको केन्द्रले जनाएको छ ।

शनिबारसम्म विभिन्न अस्पतालको आइसोलेसनमा राखिएका ८७ जनालाई डिस्चार्ज गरिएको छ । उनीहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । अहिले प्रदेशका विभिन्न अस्पतालमा १० जनालाई आइसोलेसनमा राखिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । जसमा ५ जना कोरोना संक्रमित छन् भने बाँकी ५ जनालाई कोरोनाको आशंकामा अस्पतालमा राखिएको हो । उनीहरुको परीक्षण रिपोर्ट आउन बाँकी रहेको छ ।

यस्तै प्रदेशमा सबै जिल्लामा विभिन्न क्वारेन्टाइनमा १ हजार २ सय ३९ जनालाई राखिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले जानकारी दिए ।

प्रकाशित समय १५:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु