गृहपृष्ठ प्रदेश २ मा बाढीपहिरोले २३ जनाको मृत्यु, ३ हजार व्यक्ति प्रभावित

प्रदेश २ मा बाढीपहिरोले २३ जनाको मृत्यु, ३ हजार व्यक्ति प्रभावित

rautahat-duban-newskarobar फाइल तस्बिर ।

अविरल वर्षाले प्रदेश २ मा बाढीपहिरोले ठूलो मात्रामा धनजनको क्षति भएको छ । बाढीमा परेर प्रदेश २ मा २३ जनाको मृत्यु भएको छ । बाढीमै परेर ९ जना घाइते हुनुका साथै २ जना बेपत्ता रहेका छन् ।

प्रदेश २ प्रहरी कार्यालयका अनुसार साउन ९ गतेसम्म प्रदेश २ को आठ वटै जिल्लामा बाढीको कारणले ५ सय ९४ घरपरिवारका २ हजार ९ सय ८५ जना प्रभावित भएका छन् । प्रदेश २ मा ४ सय ५० घरपरिवारका २ हजार ७ सय व्यक्ति बाढी पहिरोको जोखिममा रहेको छ । बाढीले प्रदेश २ मा २ सय ५२ घरपरिवारका १ हजार ५१ जना विस्थापित हुनु परेको छ । विस्थापित भएकामध्ये हाल सय २ सय ६ घरपरिवारका ७ सय ८१ जना घर फर्केका छन् । भने अहिलेसम्म प्रदेश २ मा ४६ घरपरिवारका २ सय ७० जना व्यक्ति विस्थापित भई पन्डाल र टेन्टको घरमा बस्नुपर्ने बाध्यता रहेको छ ।

प्रदेश २ मा बाढीपहिरोको समयावधिमा ३२ जनालाई उद्धार गरेको छ । ६७ घरपरिवारका ३ सय ८० व्यक्तिलाई राहत प्रदान गरिएको छ । बाढीपहिरोले गर्दा सप्तरीमा ८ चौपायाको समेत मृत्यु भएको छ । उद्धार कार्यका लागि नेपाल प्रहरीका २ हार ८ सय १० जनशक्ति प्रदेश २ को आठ वटै जिल्लामा परिचालन गरिएको प्रदेश २ प्रहरी कार्यालयका प्रमुख डीआइजी धिरजप्रताप सिंहले जानकारी दिए ।

बाढीकै कारण पर्सामा १ हजार ५ सय ४ दशमलव २ हेक्टर कृषि क्षेत्रमा क्षति पुगेको छ । वर्षाका कारण आएको बाढीले पर्साको कृषि क्षेत्रमध्ये १ हजार ३ सय ६९ हेक्टर धानबाली डुबानमा परेको छ । त्यस्तै, ७ हेक्टर धानबाली भएको जमिन कटान, ५ हेक्टर धानबाली र १ हेक्टर उखु पुरिएको छ, भने ५ हेक्टर उखु डुबानमा परेको छ । साथै, १ सय १५ हेक्टर तरकारी खेती डुबानमा पर्नुका साथै २ दशमलव २ हेक्टर तरकारी खेती पुरिएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।

कृषि ज्ञान केन्द्र पर्साका अनुसार छिपहरमाई गाउँपालिकामा लगाइएको कृषि क्षेत्रमध्ये ३ हेक्टर धानबाली माटो तथा बालुवाले पुरिएको छ । ३४ हेक्टर धानबाली डुबानमा, ३ हेक्टर धानबाली बाढीको कटानमा परेको छ ।

सिरहामा अविरल वर्षाले बाढीको स्वरुप लिँदा कमला, बलान, गागन, मैनावती लगायतका खोलाहरुबाट पानीको उच्च बहावले गर्दा किसानहरुले लगाएको खेतीबाली नष्ट हुनुको साथै कटान र डुबानमा परेको छ । साउन ६ गते प्रदेश सरकारका भौतिक तथा पूर्वाधारमन्त्री जितेन्द्र सोनलले बाढी प्रभावित क्षेत्रहरुको अनुगमन गरेका थिए ।

सर्लाहीको लखन्देही खोलामा आएको बाढीले गर्दा जिल्ला सदरमुकाम मलंगवा- ५ स्थित भाडसर गाउँमा करिब ४९ जनाको घर डुबानमा परेको छ । डुबानमा परेका अधिकांश घर कच्चीका छन् । घर डुबानमा परेपछि स्थानीय केहीले छिमेकीको घरमा आश्रय लिएर बसेका छन् ।

कतिपय भने चोरी हुने डरले घर छोड्न नसक्दा जोखिम मोलेर डुबान क्षेत्रमै बस्नु पर्ने बाध्यता रहेको छ । साउन ५ गते र ७ गते आएको बाढीका कारण भाडसरका करिब ५९ घर डुबानमा परेको स्थानीय पीडित मोहम्मद इसराइलले बताए ।

प्रकाशित समय १९:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु