गृहपृष्ठ उस्तै छ कोरोना महामारी, फेरि मुग्लान
उस्तै छ कोरोना महामारी, फेरि मुग्लान
‘परिवारसँगै बसिरहेर घरखर्चको उपाय भएन'
कोरोनाभाइरस (कोभिड- १९) महामारीले भारतमा भयावह अवस्था ल्याउन थालेपछि अधिकांश नेपाली स्वदेश फर्किए । नेपाल-भारत सीमा क्षेत्रमा स्वदेश फर्कनेहरुको भीड उबेला थामिनसक्नु थियो । विभिन्न नाकाबाट दैनिक हजारौं नेपाली घर फर्किएका थिए ।
अहिले पनि भारतमा महामारीको अवस्था सामान्य भएको छैन । दैनिक हजारौं संक्रमित भइरहेका छन् । कोरोनाबाट सयौंको ज्यान गइरहेको छ । तर, केही महिनाअघि भारतका विभिन्न स्थानबाट स्वदेश फर्किएका नेपालीहरु रोजगारीका लागि फेरि उतैतर्फ जान थालेका छन् ।
कोरोना त्रासकै बीच ‘आधार कार्ड’ भएकाहरु भारत फर्कने क्रम बढ्दो छ । अहिले कैलालीको त्रिनगर नाका भएर दैनिक १ सयदेखि ३ सयसम्म नेपालीहरु भारत गइरहेका छन् । उनीहरु कोरोना त्रासकै कारण ज्यान जोखिममा राखेर स्वदेश फर्किएका हुन् । भारतमा कोरोना महामारी भन्दै अधिकांश नागरिक स्वदेश फर्किरहेका बेला रोजगारीकै लागि भारत जाने क्रम पनि सुरु भएको छ ।
कोरोना महामारी सुरु भएयता सुदूरपश्चिमका विभिन्न नाका हुँदै अढाई लाख नागरिक स्वदेश भित्रिएका छन् । चार महिने लकडाउनमा घरमै बसेका उनीहरु रोजगारीका लागि फेरि भारत जान थालेका हुन् । हाल कैलालीको त्रिनगर नाकाबाट स्वदेश आउने र भारत जानेको संख्या बराबर छ ।
विगतमा भारत फर्किने भारतीय नागरिक नै रहे पनि हाल नेपाली नागरिकहरु रोजगारीका लागि भारत पस्ने क्रम बढेको त्रिनगर नाकाका हेल्थ डेस्क प्रमुख दिनेश ठकुल्लाले बताए । भारतमा कोरोना संक्रमणले दैनिक नयाँ रेकर्ड कायम गरिरहे पनि घर खर्च धान्न समस्या भएपछि नेपालीहरु धमाधम भारत जान थालेका हुन् । काम गर्ने क्षेत्रका भारतीयहरुले प्रवेश पास बनाइदिएपछि उनीहरु भारत जान थालेका हुन् ।

घरमा बसिरहे घरखर्च चलाउनै मुस्किल परेपछि रोजगारीका लागि भारत जान बाध्य भएको उनीहरुले प्रतिक्रिया छ । स्वदेशमै रोजगारी नपाएकाले कोरोना त्रासकै बीच भारत पस्नु परेको त्रिनगर नाकामा भेटिएका रतन बिसिले वाध्यता सुनाए । ‘परिवारसँग बसिरहेर घरखर्चको उपाय भएन । त्यही भएर उतै जाने विचार गरियो,’ उनले भने ।
रोजगारीका लागि भारत जाने नागरिक एकातिर छन भने, कोरोना त्रासले स्वदेश फर्किने नागरिक पनि उत्तिकै छन् । त्रिनगर नाकाबाट दैनिक तीन सय नेपालीहरु स्वदेश फर्किरहेका हेल्थ डेस्क प्रमुख ठकुल्लाले बताए । यसअघि नाकाबाट प्रवेश पाउन सहज नभएको थाहा पाएपछि उतै रोकिएका उनीहरु अहिले स्वदेश फर्किरहेका हुन् । भारतमा कोरोना महामारी तीव्र फैलिएपछि त्रासका कारण बस्न नसकिएको मुम्बैबाट स्वदेश फर्किएका कैलालीका दुर्गा भण्डारीले बताए ।
अहिले भारतबाट स्वदेश फर्किरहेका नागरिकहरुलाई होम क्वारेन्टिनमै पठाउन थालिएको छ । नाकाबाटै अटोरिक्सा तथा बसले उनीहरुलाई गन्तव्यतर्फ लैजाने र सोही सवारी साधनले अन्य व्यक्तिलाई समेत बोक्ने हुँदा संक्रमणको जोखिम अझ बढेको छ ।
प्रकाशित समय १६:०० बजे

















