गृहपृष्ठ सीमा नाकामा उस्तै छ लर्को, ज्वरो नापेर सिधै घरतर्फ

सीमा नाकामा उस्तै छ लर्को, ज्वरो नापेर सिधै घरतर्फ

कोरोनाभाइरस महामारी फैलिएपछि देशभरका सम्पूर्ण सीमा नाका बन्द गरिएका थिए । जसका कारण भारतका विभिन्न स्थानबाट स्वदेश फर्किएका नेपालीहरु सीमा नाकामा ४५ दिनसम्म अलपत्र परेका थिए । चौतर्फी दबावपछि सरकारले भारतबाट स्वदेश फर्किने नागरिकहरुको उद्धार थालेको थियो ।

गत जेठबाट उद्धार थालेको सरकारले सुदूरपश्चिमका विभिन्न नाकाबाट मात्रै करिब ४ लाख नागरिक भित्र्यायो । सुरुवाती चरणमा भारतबाट आउनेको निकै भिड भए पनि केही दिनपछि सो संख्या घट्दै गएको थियो । अहिले भारतमा लकडाउन खुले पनि सुदूरपश्चिमको मुख्य नाका त्रिनगर भएर स्वदेश फर्किने नागरिक बढिरहेका छन् ।

कोरोना महामारीपछि बन्द भएका भारतसँगका सुदूरपश्चिमका नाकाबाट नेपालीहरुलाई उद्धार थालेको ३ महिना बितेको छ । तर अहिले पनि भारतबाट स्वदेश फर्किनेको संख्यामा कमी आउन सकेको छैन । भारतमा कोरोना संक्रमणले भयावह अवस्था सिर्जना गरे पनि लकडाउन खोलिएको छ । अधिकांश व्यवसाय सञ्चालनमा आइसकेको छ । तर अहिले पनि नेपाली नागरिकहरु स्वदेश फर्किरहेका छन् । सुरुवाती अवस्थामा दैनिक ज्यालादारीमा काम गर्ने अथवा रोजगारी गुमेर समस्यामा परेका नागरिकहरु स्वदेश फर्के पनि अहिले परिवारसहित बसेकाहरु समेत नेपाल फर्किरहेका छन् ।

भारतमा लकडाउन खुले पनि होटेल लगायतका व्यवसायहरु सञ्चालनमा नआउँदा उनीहरु स्वदेश फर्किरहेका हुन् । विषेशगरी अधिकांश नेपालीहरु भारतीय होटेलमा कार्यरत हुन्छन् । कोरोना महामारीका कारण भारतमा पनि होटेल व्यवहाय ठप्प भएपछि स्वदेश फर्किनु परेको शनिबार साँझ त्रिनगर नाकामा भेटिएका डडेल्धुराका देव सिंह ऐरले बताए । ५ महिनासम्म काम नगरी बस्नु पर्दा भएको पैसा पनि सकिएपछि आफू परिवारसहित घर फर्कन बाध्य भएको उनले समस्या सुनाए ।

भारतबाट फर्किएकाहरु अहिले पनि त्रिनगर नाकाबाट धमाधम नेपाल प्रवेश गरिरहेका छन् । झण्डै तीन महिनामा लाखौं सुदूरपश्चिमवासी यो नाकाबाट प्रवेश गरेका छन् । अहिले पनि दैनिक २ सय देखि ५ सयसम्म व्यक्तिहरु नाकाबाट प्रवेश गरिरहेको त्रिनगर नाकामा खटिएका स्वास्थ्यकर्मी देव बहादुर वलीले जानकारी दिए । उनका अनुसार अहिले अधिकांशलाई होम क्वारेन्टिनमै बस्नेगरी घर पठाइएको छ । पहिलेजस्तो नाकामै आएर स्थानीय तहले क्वारेन्टिनमा लैजाने सुविधा नभएकाले हाल उनीहरु आफैँ गाडी रिजर्भ गरेर घरतर्फ गइरहेको स्वास्थ्यकर्मी वलीले बताए ।

घर फर्किएकाहरू शनिबार त्रिनगर नाकामा ।

कैलाली जिल्ला प्रशासन कार्यालयले बिहीबार रातिदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका कारण कैलालीका बजार र टोलहरु समेत सुनसान भएका छन् । तर नाकामा भने भारतबाट फर्कनेको लर्को उत्तिकै छ । साथमा भएको पैसा सकिएपछि घर फर्केको डडेल्धुराकै पदम सिहंले बताए । अब यतै केही गर्न पाए भारत नजाने उनको भनाइ छ ।

नाकाबाट भित्रिनेहरुलाई ‘थर्मल गन’ले ज्वरो नाप्ने काम मात्र भइरहेको छ । साथै सुरक्षाकर्मीहरुले उनीहरुको नाम र पुग्ने स्थानका बारेमा टिपोट गरेका छन् । चाडपवै नजिकिएसँगै स्वदेश फर्किने क्रम अझ बढ्ने आँकलन गरिएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयले बाहिरबाट आउने सबैलाई क्वारेन्टिनमै राख्न निर्देशन दिए पनि प्रदेशका अधिकांश स्थानीय तहले क्वारेन्टिन खाली गराएर होम क्वारेन्टाइनमै राखिरहेका छन् । सुदूरपश्चिमका पहाडी जिल्लामा संयुक्त परिवारको प्रचलन रहेकाले गर्दा समुदायमा कोरोना संक्रमण फैलिने थप जोखिम बढेको छ ।

प्रकाशित समय १३:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु