गृहपृष्ठ अपांगताका नाममा एकै व्यक्तिले ठगे ६५ लाख

अपांगताका नाममा एकै व्यक्तिले ठगे ६५ लाख

thagi-newskarobar

लामो समयदेखि विभिन्न बहानमा व्यक्तिबाट रकम असुल्दै आएका मिलन भनिने पूर्णबहादुर दिश्वामगरले करिब ६५ लाख रुपैयाँ ठगेको आशंका गरिएको छ । शारीरिक रुपमा अशक्त मगरले अपांगताका नाममा रुपन्देही, पाल्पा, गुल्मी, स्याङ्जा र पर्वतमा ठगी गरेका हुन् ।

ती जिल्लाबाट अपांगता भएका व्यक्तिका नाममा रकम उठाएर फरर भएका उनलाई तिलोत्तमा नगरपालिका–१३ का अध्यक्ष गणेश न्यौपानेको सक्रियतामा नियन्त्रणमा लिई असुल गरिएको केही रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको छ । केही महिनादेखि तिलोत्तमा नगरपालिकाका विभिन्न स्थानबाट करिब तीन सयभन्दा बढी व्यक्तिलाई अपांगताका नाममा ठगी गर्दै आएको भन्दै पीडितले वडा कार्यालयमा उजुरी दिएपछि उनलाई नियन्त्रणमा लिइएको थियो । अपांग रहेकाले मानवताको कारण देखाउँदै उनलाई प्रहरी छाडिसकेको छ ।

मगरबाट फिर्ता लिइएको रकम जिल्ला प्रहरी कार्यालय रुपन्देहीको रोहवरमा दुई सय ६१ जनालाई रकम फिर्ता गरिएको छ । केही समयअघि आफूहरु ठगिएको भन्दै दुई सय ६१ जनाले रकम असुलउपर गरिदिन वडा कार्यालयमा निवेदन दिएका थिए । तिलोत्तमा–१४ स्थायी घर भएका मगरबाट ठगी गरी उठाएको ६ लाख ५६ हजार ५ सय रुपैयाँ जिल्ला प्रहरी कार्यालय रुपन्देहीको रोहवरमा अपांगता भएका व्यक्तिलाई फिर्ता गरिएको वडाध्यक्ष न्यौपानेले जानकारी दिए ।

मगरले अपांगता भएका केहीलाई विदेश पठाइदिने भन्दै रकम उठाउँदै आएको प्रहरीले जनाएको छ । गत माघमा पनि तिलोत्तमा–१४ का तीन सयजनाले आफूहरु ठगिएको भन्दै वडा कार्यालयमा उजुरी दिएका थिए । मगरले कात्तिकदेखि नेपाल अपांग सरोकार केन्द्र शाखा बालाजु काठमाडौंको उप–शाखा रुपन्देहीमा स्थापना भएको भन्दै अपांगता भएका व्यक्ति र अन्य व्यक्तिबाट आजीवन सदस्यता शुल्कका नाममा पनि २५ देखि ३० हजार रुपैयाँ उठाउँदै आएका थिए ।

प्रहरीका अनुसार रुपन्देहीको सियारी गाउँपालिका, शुद्धोधन गाउँपालिका र तिलोत्तमा नगरपालिकाका विभिन्न स्थानका साथै नवलरासी, पाल्पा, गुल्मी, स्याङ्जा र पर्वतमा समेत आफ्नो पहुँच विस्तार गरी उनले रकम असुल्दै आएका थिए ।

प्रकाशित समय १८:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु