गृहपृष्ठ निलेको ६० घण्टापछि दिसाबाट निस्कियो सुनको सिक्री
निलेको ६० घण्टापछि दिसाबाट निस्कियो सुनको सिक्री
विराटनगरमा सुनको सिक्री निलेका एक युवाको करिब ६० घण्टापछि दिसाबाट सिक्री निस्किएको छ । सुन किन्ने बहानामा विराटनगरस्थित राठी ज्वेलरी हाउसबाट सुनको सिक्री निलेका इटहरी–२ का सुरजकुमार नेपालले ६० घण्टापछि सोमबार बिहान सिक्री दिसा गरेका हुन् ।
चोरी गर्ने उद्देश्यले सुन निलेको थाहा पाएपछि मोरङ प्रहरीले नेपाललाई शुक्रबार साँझ नियन्त्रणमा लिएको थियो । लगत्तै प्रहरीले उनलाई कोशी अञ्चल अस्पतालमा अब्जर्भेसनका लागि भर्ना गरेको थियो ।
अस्पतालका इमर्जेन्सी इन्चार्ज रघुनन्दन अधिकारीका अनुसार नेपालले बिहान ८ बजे सुनको सिक्री दिसा गरेका हुन् । प्रहरी टोली आलोपालो गरी नेपालको दिसा पर्खेर बसेको थियो । सुन दिसा गरेपछि उनलाई सोमबार बिहान डिस्चार्ज गरिएको अधिकारीले जानकारी दिए ।
३१ वर्षीय नेपालले विराटनगर–९ स्थित राठी ज्वेलरी हाउसबाट सिक्री किन्ने बाहनामा नक्कली सिक्री पसलेलाई बुझाएका थिए । नक्कली सुन बुझाएको भन्दै विवाद बढेपछि पसल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।
त्यसलगतै पुगेको प्रहरीले खानतलासी गर्दा नेपालको साथमा सिक्री नभेटेपछि निलेको आशंकामा अस्पताल पुर्याएर भिडियो एक्स–रे गराएको थियो । एक्स–रे गराउँदा नेपालको पेटमा सिक्री रहेको पत्ता लागेपछि अस्पताल भर्ना गरिएको हो ।
प्रकाशित समय १७:१६ बजे

















