गृहपृष्ठ मोरङमा बंशजको नागरिकता लिनेको घुइँचो
मोरङमा बंशजको नागरिकता लिनेको घुइँचो
सरकारले अंगीकृतका सन्तानलाई बंशजको नागरिकता वितरण सुरु गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिन आउनेको भिँड बढेको छ ।
बुधबारबाट नागरिकता वितरण सुरु गरेको जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबार मात्रै १ सय ३८ जनालाई वंशजको नागरिकता वितरण गरेको छ ।
गृहमन्त्रालयले परिपत्र गरेलगत्तै पहिलो पटक मोरङबाट बुधबार इशा चौधरी अग्रवालले वंशजको नागरिकता प्राप्त गरेकी थिइन् । यस्तै बिहीबार प्रक्रियामा गएका ६० जनाभन्दा बढीले शुक्रबार नागरिकता पाएका छन् ।
नागरिकता लिनेको चाप बढेसँगै जिल्ला प्रशासन कार्यालयले सामान्य दिनमा नागरिकता सिफारिसका लागि एकजना प्रशासकीय अधिकृत खटाएको भए पनि अहिले दुईजनालाई सिफारिसमा र सातजना सहयोगी नागरिकता फाँटमा खटाइएको सहायक प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद पाण्डेले बताए ।
लामो समयदेखि नागरिकता वितरण रोकिँदा युवाहरुलाई उच्च शिक्षा तथा सामान्य रोजगारी गर्नसमेत समस्या हुँदै आएको थियो । नागरिकता ऐन संसदमा विचाराधीन अवस्थामा रहेकै बेला गृहले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै अंगीकृतका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन परिपत्र गरेको थियो ।
प्रकाशित समय १७:४२ बजे

















