गृहपृष्ठ हिमाली क्षेत्रमा आलु उत्पादन घट्यो

हिमाली क्षेत्रमा आलु उत्पादन घट्यो

potato-newskarobar

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सासहितका हिमाली क्षेत्रमा आलु उत्पादन न्यून हुँदै गएको छ । केही वर्षयतादेखि उत्पादन घट्दै गएकोमा यस वर्ष उत्पादन शून्यजस्तै बनेको छ ।

आलु उत्पादन हुने घुन्सा, फले, ग्याब्ला, आम्जिलेसालगायतका क्षेत्रमा उत्पादन नहुँदा आउने मौसमका लागि अन्यत्रैबाट बीउ खोजेर ल्याउनुपर्ने अवस्था आएको स्थानीयबासीले बताएका छन् ।

‘सधैँ खम्बाचेन, घुन्सामा उत्पादित आलु फलेमा लगेर भण्डारण गरिन्थ्यो, त्यहाँसम्म तल्लो भेगका मानिस कोदो, मकैजस्ता अन्न लिएर साट्न आउँथे र आलु लिएर फर्किन्थे । यस वर्ष बीउ राख्न पनि पाइएन ।’ घुन्साका हिमाली चुङदाकले भने । उनका अनुसार आलु उत्पादन हुने अधिकांश क्षेत्र खर्कमा परिणत हुन थालेका छन् । ‘आलु फल्न छाडेपछि खम्बाचेन र फलेका केही भाग खर्कमा परिणत भएका छन्, घुन्सामा यस वर्ष एक मुरी बीउ रोप्दा दस पाथी पनि राम्रो आएन, यस्तै अवस्था रहिरहे हिमाली क्षेत्रका बासिन्दालाई समस्या आउने देखिन्छ’, उनले भने ।

सदरमुकामबाट झण्डै तीन दिनको पैदल दूरीमा पर्ने घुन्सालगायतका बासिन्दा पशुपालनसँगै आलुखेती गर्छन् । विगतमा वर्षभर पुग्ने अन्नपात आलुले नै जुटाउने घुन्सावासी यो वर्ष आफैँका लागि छ दिनसम्मको समय खर्चेर यांमादेखि आलु बोक्न बाध्य बने । ‘आफू पनि खानु पर्‍यो, आउने पर्यटकलाई पनि खुवाउनै पर्‍यो, यो वर्ष आलु नफल्दा याङ्मादेखि पनि ल्यायौँ’, स्थानीयबासी टाँसी शेर्पाले भने ।

करिब तीन हजार ४ सय मिटरको उचाइमा पर्ने घुन्सामा मात्र एक सिजनमा १ सय मुरीभन्दा बढी आलु उत्पादन हुन्थ्यो । आसपासका बस्तीमा उत्तिकैरुपमा उत्पादन हुन्थ्यो तर क्रमशः घट्दै गएपछि कतै जमिन बाँझो छन् भने कतै बस्तु चराउने खर्क बन्दै गएको देखिन्छ । विशेष गरी फले क्षेत्र बाँझोमा परिणत भएको देखिन्छ । सो क्षेत्रमा घुन्सावासीले नै आएर आलुखेती गर्थे ।

आलु उत्पादन किन घट्यो भन्ने विषयमा स्थानीय अनविज्ञ देखिन्छन् । जलवायु परिवर्तनका कारण हो कि भन्ने अनुमान गरिएको छ । केही वर्षयता हिमाली क्षेत्रका मौसमी वातावरणमा परिवर्तन आउँदा उत्पादनमा प्रभाव परेको हुनसक्ने स्थानीयबासीको भनाइ छ । (रासस)

प्रकाशित समय १३:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु