गृहपृष्ठ साढे १८ अर्ब एडीबीको ऋण लिएर स्मार्ट मिटर जोड्दै प्राधिकरण

साढे १८ अर्ब एडीबीको ऋण लिएर स्मार्ट मिटर जोड्दै प्राधिकरण

काठमाडौं उपत्यकाका ३ लाख ५० हजार विद्युत उपभोक्ताको लागि स्मार्ट मिटरको जडान गर्ने तयारी

Smart Meter_NewsKarobar

एसियाली विकास बैंक (एडीबी) ले काठमाडौं उपत्यकामा स्मार्ट मिटरको जडानसहित नेपालको विद्युत् प्रसारण तथा वितरण प्रणालीलाई आधुनिकीकरणका लागि १८ अर्ब ४० करोड रूपैयाँबराबरी (१५ करोड ६० लाख अमेरिकी डलर) को सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ।

एडीबीको सहयोगमा सुरु गरिएको  वितरण तथा प्रसारण प्रणालीलाई आधुनिकीकरणअन्तर्गत हालसम्म करिब १५ हजार थान स्मार्ट मिटर जडान समेत भइसकेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

एडीबीको सहयोगमा काठमाडौं उपत्यकाका ३ लाख ५० हजार विद्युत उपभोक्ताको लागि स्मार्ट मिटरको जडान गर्ने तयारी छ । एडीबीको सहयोगमा प्राधिकरणले हाल रत्नपार्क तथा महाराजगञ्ज विद्युत् वितरण केन्द्रमार्फत  स्मार्ट मिटरको जडान तथा वितरण गरिरहेको  छ । यसबाहेक नयाँ स्वीकृत गरिएको ऋणबाट काठमाडौंमै विद्युत् वितरण प्रणालीको कमान्ड र नियन्त्रण केन्द्र पनि निर्माणमा पनि यो सहयोग खर्च गरिने बैंकले जानकारी दिएको छ ।

विद्युतीय ग्रिड आधुनिकीकरण परियोजनाले देशभरि ग्रिड सबस्टेसनहरूको अटोमेसनका साथै विभिन्न क्षेत्रमा वितरण तथा प्रसारण प्रणालीलाई आधुनिकीकरण गर्ने, काठमाडौं उपत्यकामा स्मार्ट मिटरको जडान तथा नेपाल विद्युत प्राधिकरणको क्षेत्रगत सुधार र संस्थागत सुदृढीकरणमा सहयोग पुर्‍याउने एडीबीले जनाएको छ।

बैंकका अनुसार परियोजनाले विद्यमान ३४ वटा ग्रिडमा आधारित सबस्टेसनहरू स्वचालित बनाउनेछ भने नयाँ २२० किलोभोल्ट (केभी) र १३२ केभीका स्वचालित ग्रिड सबस्टेशनहरू स्थापना गर्ने, कुल ११३ किलोमिटर लामो नयाँ प्रसारण लाइनहरू निर्माण गर्ने र विद्यमान प्रसारण लाइनहरूमध्ये १४४ किलोमिटरलाई स्तरोन्नति गर्ने बैंकले जानकारी दिएको छ।

‘नेपालका अधिकांश जनसंख्याले ग्रिडबाट आपूर्ति गरिएको बिजुलीमा पहुँच पाएका छन्, अहिले र भविष्यका माग पूरा गर्न, आपूर्तिको विश्वसनीयता र गुणस्तरमा सुधार गर्न तथा घाटा कम गर्नका लागि वितरण नेटवर्कहरूको क्षमता र पहुँच बढाउनु पर्ने आवश्यक छ,’ बैंकले भनेको छ ।

यो आयोजनाले प्राधिकरणको व्यापक कर्पोरेट विकास योजना लागू गर्नका लागि संस्थागत क्षमता बलियो बनाउने, स्वचालित ग्रिड सब-स्टेसनहरूको व्यवस्थापनका लागि कर्मचारीलाई तालिम दिने र प्राधिकरणको वित्तीय सुधारका लागि समेत योगदान गर्ने बैंकले जनाएको छ ।

प्रकाशित समय १२:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु