गृहपृष्ठ ऋण काढेर बिदेसिएको छोरोकोे शव फर्काउन नसकेपछि…
ऋण काढेर बिदेसिएको छोरोकोे शव फर्काउन नसकेपछि…
मोरङको सुनवर्सी नगरपालिका–२, अमरदह बजार यतिबेला शोकमा डुबेको छ । वैदेशिक रोजगारीका सिलसिलामा दक्षिण कोरिया पुगेका २९ वर्षीय सन्तोष विष्टको सडक दुर्घटनामा परी मृत्यु भएको खबरसँगै अमरदहबासी शोकमा डुबेका हुन् ।
मृत्यु भएको २५ दिन भइसक्दा पनि शव झिकाउन आवश्यक खर्च नहुँदा यतिबेला ६० वर्षीय बाबु नरेन्द्रबहादुर विष्ट, ५७ वर्षीय आमा चन्द्रमाया विष्ट र जीवन संगिनी सरिता रोएर दिन बिताइरहेका छन् । विष्ट दम्पतीले छोराको शव नेपाल ल्याउन अथक प्रयास गरे पनि आर्थिक अभावमा समस्या भएपछि छोराको शव नेपाल ल्याइदिन सरोकारवाला निकाय र सरकारसँग आग्रह गरेका छन् ।
शोकले विष्ट परिवारको भोक र निन्द्रा गुमिसकेको छ । ‘१३ लाख ऋण गरेर गएको छोरो ऋण तिरिनसक्दै सधैंका लागि हामीलाई छोडेर गयो,’ नरेन्द्रबहादुरले भक्कानिँदै भने, ‘न सास छ, न लास छ । ल्याउनका लागि सबैसँग गुहार मागें, तर कतैबाट पहल भएन । शव ल्याउन १० लाख खर्च लाग्छ भन्छन्, कहाँबाट ल्याऊँ त्यति धेरै पैसा ?’

दक्षिण कोरियाको सिजिओ सहरमा स्कुटरमा सवार सन्तोषलाई पछाडिबाट गाडीले ठक्कर दिएपछि उपचारका क्रममा मृत्यु भएको आफन्तको भनाइ छ । दुर्घटना गराउने गाडीधनीको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले उनको शव नेपाल ल्याउन समस्या भएको बताइएको छ ।
सन्तोषलाई दुर्घटना गराउने गाडीले चुक्ता गर्नुपर्ने रकम तिर्न नसकेपछि दुर्घटना गराउने गाडीधनी र शव त्यहाँको प्रहरीले नियन्त्रणमा लिएर राखेको छ । सन्तोष दलालमार्फत दुबईबाट डेढ वर्षअघि दक्षिण कोरिया पुगेका हुन् । पर्यटक भिसाबाट कोरिया पुगेका कारण पनि सन्तोषको शव ल्याउन प्राविधिक समस्या भएको हो ।
यसैबीच, सुनवर्सी नगरपालिका–२ का अध्यक्ष प्रताप तामाङले शुक्रबार घरमै पुगेर विष्ट परिवारलाई १ लाख १ हजार नगद सहयोग गरेका छन् । उनले व्यक्तिगत सहयोग गरेका हुन् । शव ल्याउन झन्डै १० लाख खर्च हुने भएपछि स्थानीयबासी सहयोग संकलनमा लागेका छन् ।
प्रकाशित समय १८:४१ बजे

















