गृहपृष्ठ विद्युत चोरीमा संलग्न ४२ जनालाई कारवाही
विद्युत चोरीमा संलग्न ४२ जनालाई कारवाही
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत चोरीमा संलग्न ४२ जनालाई कारवाही गरेको छ । विद्युत चोरी नियन्त्रण अभियानलाई तीव्रता दिँदै हुकिङ गरी विद्युत चोरी गरिरहेको अवस्थामा विद्युतीय सामग्री पनि ठूलो संख्यामा जफत गरेको छ ।
प्राधिकरणका कर्मचारी तथा प्रहरीको सहयोगमा गाउँगाउँमा पुगेर टिभी, फ्रिज, पङ्खा, पानी तान्ने मोटर, तार, कटरलगायतका १४० थान विद्युतीय उपकरणसमेत नियन्त्रणमा लिएको विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जनाएको छ ।
कोरोनाको महामारीमा नेपाल सरकारले गरेको लकडाउनदेखि हालसम्मको अवधिमा विद्युत चोरीमा संलग्न ४२ जनालाई पक्रउ गरी कारवाही गरिएको वितरण केन्द्रका प्रमुख आमोद यादवले जानकारी दिए । उनीहरुबाट तीन लाख दुई हजार ५४९ राजस्व असुलीसमेत गरिएको छ । प्राधिकरणका इञ्जिनियर विमलप्रसाद साहका अनुसार विद्युत् चोरीमा संलग्नलाई न्यूनतम तीन हजारदेखि विद्युत् खपत गरेको युनिटको आधारमा थप जरिवाना गरिएको बताए ।
यस अवधिमा ५० लाखभन्दा बढी बक्यौता पनि उठाइएको छ । यता समयमै महसुल नबुझाउने १४० ग्राहकको लाइन यस अवधिमा काटिएकामा १२७ जनाबाट ५७ लाख २४ हजार ८५३ असुली भइसकेको र अन्य बाँकीबाट पनि प्राप्त हुने क्रम जारी रहेको इञ्जिनियर साहको भनाइ छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजअन्तर्गत कूल ५१ हजार ९८७ ग्राहक छन् । विद्युत् चोरीमा संलग्नलाई धमाधम कारवाही गर्न थालिएपछि विगतको तुलनामा विद्युत हुकिङ गरेर चोरी गर्नेको संख्या अहिले घट्दै गएको तर पूर्ण नियन्त्रणमा भने हुन नसकेको केन्द्रका प्रमुख यादवको भनाइ छ । (रासस)
प्रकाशित समय १०:१७ बजे

















