गृहपृष्ठ सीप नै आर्थिक उपार्जनको कडी

सीप नै आर्थिक उपार्जनको कडी

वीरेन्द्रनगर नगरपालिका १० सुर्खेतकी शोभा चौधरीले नवज्योति केन्द्र सुर्खेतबाट ब्युटिसियन तालिम लिइन् । सामान्य लेखपढमात्र गर्न जान्ने उनी सीप नभएकै कारण चुलो र चौकोमा सीमित थिइन् । केन्द्रले दिएको तालिम लिएपछि सफल उद्यमी बन्ने आँट उनमा आएको छ । ‘सीप नै आर्थिक उपार्जनको कडी रहेछ,’ उनले भनिन्, ‘म अब अरुको भरमा बाँच्नु पर्दैन ।’ हातमा सीप भएपछि महिला कुनै पनि हिंसा नपर्ने तर्क उनले गरिन् ।

लेकबेँसी नगरपालिकाकी पूर्णा पुनमगरले पनि नवज्योतिबाटै सिलाइकटाइ तालिम लिएकी थिइन् । विपन्न परिवारकी उनको परिवार पाल्ने केही उपाय नभएपछि अहिले सिलाइ गरेरै परिवारको खर्च धानेकी छन् । ‘मलाई जीवन चलाउने बाटो भएको छ,’ उनले भनिन्, ‘हातमा सीप भएपछि आँट पनि बढेको छ ।’ उनले केन्द्रले सीपसँगै सामग्रीसमेत प्रदान गरेकाले आफूलाई व्यवसायमा सहजता भएको बताइन् ।

नवज्योति केन्द्रले शोभा र पूर्णा जस्तै सयौँ महिला तथा पुरुषलाई तालिम प्रदान गरेको छ । हालसम्म २२८ जनाले सीप प्राप्त गरी प्रत्यक्ष रोजगारी प्राप्त गरेको केन्द्रले जनएको छ ।

केन्द्रले बुधबार आयोजना गरेको सीप तथा सशक्तीकरण तालिम समापन समारोहमा उनीहरुले सीप नै आर्थिक उपार्जनको कडी भएको बताएका हुन् । कार्यक्रममा ६ महिने सीप तथा सशक्तीकरण तालिममा सहभागी भएका १६ जनालाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।

त्यस्तै १० वटा युवा क्लबका १० जना युवालाई ड्राइभिङ तालिम प्रमाणपत्र प्रदान गरिनुका साथै पाँच युवतीलाई ब्युटिपार्लर तालिमको प्रमाणपत्र प्रदान गरिएको महिला, युवा तथा बालबालिका सशक्तीकरण परियोजनाकी सुपरभाइजर जरमाया बाठाले जानकारी दिइन् । कार्यक्रममा चारजना विशिष्ट काम गर्ने व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेत महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रकी प्रमुख डिला बिक, प्रहरी हवल्दार अशोक शाही, सेवा केन्द्रका रामबहादुर शाही र नवज्योति केन्द्रका युवा परिचालक यज्ञ गिरीलाई सम्मान गरिएको हो । १७ वर्षदेखि महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा काम गरेका २६ जनालाई सम्मान गरिएको बाठाले बताइन् । त्यस्तै तीन जना सीप विकाससम्बन्धी उत्कृष्ठ महिलालाई सिलाई मेसिन र आइरन वितरण गरिएको छ ।

तालिम समापन समारोहमासामाजिक विकास मन्त्रालय सामाजिक सुरक्षा तथा महिला विकास शाखा अधिकृत अनिता ज्ञवालीले राज्य नपुगेको ठाउँमा नवज्योति केन्द्र पुगेको बताइन् । जिल्ला प्रहरी कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रकी प्रमुख डिला बिकले प्रहरीले गर्न नसकेको काम नवज्योति केन्द्रले गरेको भन्दै प्रशंसा गरिन् ।

केन्द्रकी कार्यकारी निर्देशक सिस्टर रोसिटाले सबैको सहयोगमा पीडितको घाउमा मलम लगाउन सफल भएको बताइन् । कार्यक्रममा बालक्लब, महिला समूहलगायतको सहभागिता थियो ।

प्रकाशित समय १०:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु