गृहपृष्ठ स्थिरताको वातावरण बिगार्नेको प्रतिवाद गर्न प्रचण्डको आग्रह

स्थिरताको वातावरण बिगार्नेको प्रतिवाद गर्न प्रचण्डको आग्रह

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्थिरतामा रमाउनेहरुले मुलुकमा स्थिरताको वातावरण बिगार्न लागेकाले त्यसको प्रतिवाद गर्दै समृद्धिको यात्रामा लाग्नुपर्ने बताएका छन् । नेपाल नेत्रहीन संघको रजत महोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले अस्थिरताको फोहोर फालेर पाँचवर्षीय स्थिर सरकारको लक्ष्यअनुसार समाजवादउन्मुख समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने बताए ।

‘अस्थिरता र अराजकताबाट कुम्ल्याउनेहरु अहिले खुशी छैनन्, उनीहरु छट्पटिएका छन्,’ प्रचण्डले भने, ‘त्यसमा रमाउन पल्केकाहरु स्थिरताको वातावरण बिगार्न लागेका छन् ।’ उनले समावेशिता र समानुपातिकता दृष्टिले नेपालको संविधान विश्वकै उत्कृष्टमध्ये एक भएको दावी गरे । संविधानको कार्यान्वयनका लागि ऐन, कानुन बनाएर अघि बढ्नुपर्नेमा उनको जोड थियो ।

पत्रकार सिलवाल र न्यौपाने पुरस्कृत

कार्यक्रममा अपांगता र न्यूनदृष्टियुक्तको अधिकारका क्षेत्रमा पत्रकारिताबाट योगदान दिएवापत राष्ट्रिय समाचार समितिका प्रकाश सिलवाल र कान्तिपुर दैनिकका दामोदार न्यौपानेलाई जनही १० हजार राशिको पुरस्कार तथा नर्वेली परियोजना एनएविपीका निर्देशक हरिशरण विष्टलाई सम्मान ११० न्यूनदृष्टियुक्तलाई लायन्स क्लब अफ काठमाडौं, रेबो सिटीका तर्फबाट सेतो छडी वितरण गरिएको थियो ।

संघका निर्देशक नरबहादुर लिम्बूको मुक्तक संग्रह ‘अनुभूतिका झुल्काहरु’ को पनि विमोचन गरियो भने न्यूनदृष्टियुक्तका लागि डा. बालकृष्ण बलले तयार गरेको ‘टेक्स्ट टु स्पिच’ सार्वजनिक गरियो ।

(रासस)

प्रकाशित समय २०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु