गृहपृष्ठ कर्णालीको राजधानीमै छैन जेब्रा क्रसिङ्
कर्णालीको राजधानीमै छैन जेब्रा क्रसिङ्
सुर्खेत कर्णाली प्रदेशको राजधानी भएपछि मानिसहरुको चहलपहल बढ्दै गएको छ । चहलपहल संगै ट्राफिक व्यवस्थापनमा पनि चुनौति आएको छ । तर, वीरेन्द्रनगर बजार क्षेत्र तथा रत्न राजमार्गमा समेत ट्राफिक व्यवस्थापनका लागि जेब्रा क्रसिङ् नहुँदा समस्या परेको छ ।
राजधानीकै सडकमा जेब्रा क्रसिङ् नहुँदा यात्रहरु जथाभाबी सडक पार गरिरहेको दृष्य देख्न सकिन्छ । सडकमा जेब्रा क्रसिङ् नहुँदा ट्राफिक व्यवस्थापनमा समेत समस्या परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख हरि बिसीले बताए ।
वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी भएकोले पनि यात्रुहरुको चहलपहल बढेको छ ।
‘बजार तथा रत्न राजमार्गमा जेब्रा क्रसिङ् नहुँदा यात्रुहरु जथाभावी सडक पार गर्छन्,’ उनले भने । यात्रुहरुले जथाभावी सडक पार गर्दा दुर्घटना निम्तिने गरेको प्रमुख बिसीले बताए । उनका अनुसार वीरेन्द्रनगर नगरपालिकासँग समन्वय गरेरे आवश्यकता अनुसार वीरेन्द्रनगर बजार क्षेत्रभित्र जेब्रा क्रसिङ् राख्ने तयारी गरिएको छ ।
उता वीरेन्द्रनगर नगरपालिकाका ईन्जिनियर विशाल अधिकारीले भने वीरेन्द्रनगर बजार क्षेत्रमा जेब्रा क्रसिङ्को आवश्यकता भएकोले छिटै राख्ने तयारी गरेको बताए ।
रत्न राजमार्गको विषयमा भने सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी दिपेन्द्र विष्टले निर्माण कार्य सम्पन्न नभएका कारण जेब्रा क्रसिङ् नराखेको बताए ।
प्रकाशित समय १९:२९ बजे

















