गृहपृष्ठ मैथिली सम्मेलन सकियो, १० बुँदे जनकपुरधाम घोषणापत्र जारी

मैथिली सम्मेलन सकियो, १० बुँदे जनकपुरधाम घोषणापत्र जारी

janaki-mandir-newskarobar

जनकपुरधामा आयोजित २ दिवसीय अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सम्पन्न भएको छ । शनिबारदेखि आयोजित मैथिली सम्मेलन आइतबार साँझ ७ बजे औपचारिक रुपमा सम्पन्न भएको हो ।

२ दिने सम्मेलनको क्रममा प्रस्तुत विभिन्न कार्यपत्रमाथि छलफल गरि प्रदेश नम्बर १ र २ मा मैथिलीलाई प्रदेश भाषा घोषणा गर्न जोड दिइएको छ । स्थानीय तहको सरकारी, अर्धसरकारी, गैरसरकारी कार्यालयहरुमा मैथिलीलाई आधिकारिक भाषाको मान्यता दिइनुपर्ने माग सम्मेलनले उठाएको छ ।

मैथिली सम्मेलनमा विद्यालयको पाठयक्रममा प्रारम्भिक बाल शिक्षा केन्द्रदेखि कक्षा १२ सम्म १०० पूर्णाकको एउटा मातृभाषा अनिवार्य राख्न जोड दिइएको छ । घोषणापत्रको तेस्रो बुँदामा प्रारम्भिक बाल शिक्षादेखि कक्षा ५ सम्म अनिवार्य रुपमा मातृभाषाको माध्यममा शिक्षण गर्न माग गरिएको छ ।

प्रदेश १ र २ मा मुख्य कार्यक्षेत्र राख्दै देशभरमा मैथिली भाषाको संरक्षण र सम्बर्द्धन गर्न मैथिली केन्द्रको स्थापना गरिनुका साथै मैथिली भाषामा पत्रकारिता गर्ने पत्रकार, संचारमाध्यमलाई संरक्षण दिनु पर्नेमा जोड दिइएको छ ।

लोक सेवाको परिक्षामा मातृभाषालाई मान्यता दिइनु पर्ने, संविधानमा उल्लेख भाषा आयोगलाइ पूर्णता दिनुपर्ने, मैथिली भाषा विज्ञलाई समानुपातिक रुपमा समावेश गर्न पर्यटकीय विकास र मिथिला पर्यटन सर्किट निमार्ण गर्नुपर्ने लगायतका माग सम्मेलनले अघि सारेको छ ।

मैथिली साहित्यकार देवेन्द्र मिश्र, हिमांशु चौधरी र अशोक दत्तले घोषणा पत्र तयार गरेका हुन् । कार्यक्रम संयोजक रामभरोस कापडी भ्रमर र महासचिव वैधनाथ चौधरी बैजुले हस्ताक्षर गरेको घोषणा पत्र जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई प्रदान गरिएको छ । सहभागीहरुलाइ मेयर साह र संयोजक कापडिले प्रमाणपत्र प्रदान गरी सम्मेलन समापन गरेका थिए ।

प्रकाशित समय १९:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु