गृहपृष्ठ महाकालीमा ‘ट्युब धन्दा’, नेपाल प्रवेश गर्न २५ सय भाडा
महाकालीमा ‘ट्युब धन्दा’, नेपाल प्रवेश गर्न २५ सय भाडा
भारतका विभिन्न स्थानबाट घर फर्कन महाकाली आइपुगेका नेपालीहरू । (फाइल तस्बिर)
भारतको पिथौरागढको मदकोट क्षेत्रमा काम गर्न गएका १६ जना नेपालीले महाकालीवारि नेपाल फर्किन ४० हजार रूपैयाँ खर्च गरेका छन् । महाकालीमा पौडिन नसकेपछि दार्चुला र बैतडीका मजदूरले प्रतिव्यक्ति २५ सय रूपैयाँ तिरेका छन् ।
तीन दिनदेखि मदकोटबाट भोकभोकै बालुवाकोट पुगेका उनीहरुले ट्युबमार्फत नेपाल पुर्याएको प्रतिव्यक्ति २५ सय तिरेका हुन् । तीन दिन भारतको जंगलको बाटो भएर उनीहरु बालुवाकोट पुगेका थिए । ‘मदकोटमा सडक निर्माणमा काम गर्दै आएका थियौँ,’ बैतडी डिलाशैनी गाउँपालिका- ३ का काशी बोहराले भने, ‘लकडाउनदेखि काम हुन सकेन् । रासन पाएसम्म त्रिपालमै बसेका थियाैं । अहिले रासन पनि नपाइने भएपछि भोकभोकै जंगलको बाटो भएर बालुवाकोट पुगेका हौं ।’
‘गाउँ बस्तीमा पुगिने ठाउँमा दिउँसो रोकियौँ । बढी समय राति हिँडेर आयौँ । भारतका नागरिकले समेत नदेखुन् भनेर राति-राति हिँडेर आएका थियाैं,’ बोहराले समस्या सुनाए, ‘भोकभोकै बस्न नसकिने भएपछि बाध्य भएर फर्किनु परेको हो ।’
‘बालुवाकोट पुगेपछि ट्युब चालकलाई फोन गरेका थियौँ लोकेन्द्र भण्डारीले भने, ‘पहिले हाम्रा गाउँका ट्युबमा तार्दा एक हजारदेखि १६ सय भारु लिएको थियो तर अहिले सुरक्षाकर्मीले कडाइ गरेको भन्दै २५ सय दिएमात्रै ट्युबमा नेपाल पुर्याएको बताएपछि त्यति नै रकम तिरेर आउनुपर्यो ।’
भोकभोकै बस्नुभन्दा कमाएको पैसा ट्युब चालकलाई दिएर भए पनि नेपाल आउनुपरेको रमेश बोहराले बताए । गत मंसिरमा मदकोटमा सडकको काम गरेबाफत ठेकेदारले पूरै रकम दिएका छैन् । लकडाउनपछि प्रतिव्यक्ति रु १० हजारका दरले रकम दिएको हो । ‘त्यो पैसा रासन खरिदमै सकिन लागेपछि बिस्कुट खाएर यहाँसम्म आएका हौँ,’ उनले भने ।
उनीहरु चार वर्षदेखि मदकोट क्षेत्रमा सडकमा काम गर्दै आएका छन् । ठेकेदार चिनजानकै व्यक्ति भएकाले लिन बाँकी ३० हजार रूपैयाँ पछि लकडाउन खुलेपछि रकम दिन्छु भनेकाले त्यसमा भने उनीहरु चिन्तित देखिँदैनन् । रमेशले भने, ‘पुल खुल्ने थाहा थिएन, त्यही भएर नदीमा ट्युब तरेर आएका छाैं ।’
भारतको मदकोटबाट आउनेमा डिलाशैनी गाउँपालिका- ३ का काशी बोहरा र खेमराज बोहरा दाजुभाइ हुन् । दुवै भाइ मंसिरमा काम गर्न त्यसतर्फ गएका थिए । उनीहरुको घरमा आठ जनाको परिवार छ । ‘हामी दुवै जना वर्षमा दुई पटक भारतमा मजदूरी गर्न जान्छौँ,’ खेमराजले भने, ‘अहिले त काम गरेको पैसा पनि दिएको छैन, गाउँमा गएर खेतीपाती गर्न भनेर आएका हौँ ।’
महाकाली नगरपालिका- ९, दत्तु चुच्चै क्षेत्रबाट नेपाल आउनेमा बैतडी डिलाशैनी गाउँपालिकाका चारजना, डिलौशनी- ३ का नौ जना, डिलाशैनी- ७ का एक, पुर्चौडी नगरपालका- १० का एक र दार्चुला नौगाड- ६ का एक जना रहेका छन् ।
मंगलबार मात्र व्यास गाउँपालिका- १ माल्पा भएर डिलाशैनी- १ का एक, वडा नम्बर २ का एक, वडा नम्बर ३ का एक, पुर्चौडी नगरपालिका- ४ का पाँच जना नेपाल प्रवेश गरेका थिए । उनीहरुलाई मंगलबार व्यास सुनसेराको क्वारेन्टिनमा राखेर आज सरदमुकाम खलंगा ल्याइएको दुहुँ गाउँपालिका स्वास्थ्य संयोजक प्रेमसिंह धामीले जानकारी दिए । उनीहरुको दुहुँ गाउँपालिका स्वास्थ्य शाखाले श्रीवगडमा स्वास्थ्य परीक्षण गरेर पठाएको छ ।
उनीहरुलाई महाकाली नगरपालिकाले निर्माण गरेको महेन्द्र नमूना मावि खलंगाको क्वारेन्टिनमा स्वास्थ्य परीक्षण गरी खाना खुवाइएको महाकाली नगरपालिका विपद् शाखा प्रमुख भुवन जोशीले जानकारी दिए । महाकाली तरेर आएका बाह्य जिल्लाका सबैलाई स्थानीय तहको क्वारेन्टिनमा पठाउने तयारी भएको संयोजक जोशीले बताए ।
दार्चुलामा महाकाली नदी तरेर एक वैशाख १० गते यता मात्रै ७२ जना पुगेका छन् । प्रहरीका अनुसार वैशाख १० गते नौ जना, वैशाख १२ गते पाँच जना, वैशाख १३ गते ३४ जना, वैशाख १६ गते आठ जना र वैशाख १७ गते १६ जना महाकाली तरेर प्रवेश गरेका छन् । चैत १३ गतेयता वैशाख ९ गते महाकाली नदीमा ट्युब, जाघार, पौडी खेलेर २२१ जना आइसकेका छन् ।
यसैबीच प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललगायत सुरक्षा निकायका प्रमुखले सीमा क्षेत्रका निरीक्षण गरेका छन् । भारतीय क्षेत्रबाट नेपाली ल्याउने तयारी गरिरहेको बेला उनीहरुले दत्तु नाकासम्मको निरीक्षण गरी फर्किएका हुन् । प्रजिअ यदुनाथ पौडेलले पछिल्लो समय दत्तु क्षेत्रका नाका भएर नेपाली धमाधाम फर्किरहेको कारण सुरक्षा निकायका प्रमुखसहितको टोलीबाट अनुगमन निरीक्षण गरिएको बताए । त्यस क्षेत्रमा सुरक्षाको अवस्थाबारे जानकारी लिन अनुगमन गरिएको उनको भनाइ छ । (रासस)
प्रकाशित समय २२:४२ बजे

















