गृहपृष्ठ नेकपा सचिवालयको अर्को बैठक २० गते, त्यसअघि ‘थप गृहकार्य’
नेकपा सचिवालयको अर्को बैठक २० गते, त्यसअघि ‘थप गृहकार्य’
प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे सचिवालय बैठक कुनै औपचारिक निर्णय नगरी सकिएको छ । बुधबार साँझ ६ बजेपछि सुरू बैठक तीन घन्टा चलेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डसहित माधव नेपाल लगायतले आ-आफ्नै अडान नछाडेपछि बैठकबाट कुनै निर्णय हुन सकेन । प्रचण्ड र माधव नेपाललगायत सचिवालयका अधिकांश सदस्यले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने माग गरेका थिए । यसका साथै तत्काल स्थायी समिति बोलाउनु पर्ने उनीहरूको धारणा थियो । तर ओली भने राजीनामा नदिने र स्थायी कमिटी पनि नबोलाउने पक्षमा रहेका थिए ।
बैठकमा पार्टी एकतालाई सुदृढीकरण गर्ने र सरकारलाई मजबुत पार्ने विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । ‘पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकताको महत्व, स्थायी कमिटी बोलाउने र त्यससँग जोडिएका विविध पक्षका बारेमा विचार विमर्श भयो,’ उनले भने, ‘आजको बैठकमा ठोस सहमति नजुटेपछि थप गृहकार्य गरेर वैशाख २० मा सचिवालय बैठक तय भएको छ ।’
प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी विवादास्पद दुई अध्यादेश ल्याएपछि नेकपामा विवाद चर्किएको छ । विवादले चर्को रूप लिँदै जाँदा नेताहरुबीच ओलीलाई हटाउन हस्ताक्षर अभियानसमेत चल्न थालेको छ । ओली पनि संसदीय दल र केन्द्रीय समितिमा आफ्नो बहुमत देखाउन छुट्टै हस्ताक्षर अभियानमा जुटेका छन् ।
प्रकाशित समय २२:१४ बजे

















