गृहपृष्ठ उड्न लागेको विमानको पंखामा मानिस…
उड्न लागेको विमानको पंखामा मानिस…
नाइजेरियाको लागोस सहरको विमानस्थलमा उड्न लागेको विमानको पंखामा एउटा मानिस चढ्यो । त्यो देखेर विमानमा सवार यात्रीहरू निकै डराएको विमानस्थलका अधिकारीहरूले बताएका छन् ।
नाइजेरियाको समाचार एजेन्सीका अनुसार शुक्रबार मुर्तला मुहम्मद अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको विमान उडान भर्न क्लियरेन्स संकेत पर्खंदै गर्दा एउटा मानिस त्यही विमानको पंखामा चढ्दै गरेको देखियो ।
‘अपरिचित मानिस विमानतर्फ आउँदै गरेको देखेर पाइलटले इन्जिनको गति कम गरे । मानिस नरोकिएपछि पाइलटले इन्जिन बन्द गरिदिए,’ अजमान एयरले भनेको छ ।
एयरलाइनका अनुसार त्यसपछि उक्त मानिस उफ्रँदै विमानको पंखामा चढेर क्याबिनमा छिर्ने प्रयास गर्न थाल्यो । पाइलटले तुरून्तै घटनाको सूचना रेडियोमा दिए । विमानका एक यात्रीले यसको भिडियो बनाएका थिए ।
भारतीय अनलाइन ‘अमरउजाला’ का अनुसार भिडियोमा पंखामा मानिस हिँड्दै छ । डराएका यात्रीले सुरक्षामा आशंका गर्दै चालक दललाई बाहिर निस्कने ढोका खोल्न भन्दै छन् । त्यस मानिसलाई नाइजेरिया विमानस्थलका अधिकारीहरूले हिरासतमा राखेर सोधपुछ थालेका छन् ।
प्रकाशित समय १४:०५ बजे

















