गृहपृष्ठ चार वर्षमा दोब्बर पर्यटक

चार वर्षमा दोब्बर पर्यटक

tourism-newskarobar

नेपालमा चार वर्षको अवधिमा पर्यटक आगमन दोब्बरले बढेको छ । सन् २०१५ को जनवरीदेखि मे महिनासम्ममा २ लाख ५९ हजार ६२४ पर्यटक आएकोमा सन् २०१९ को सोही अवधिमा पर्यटक आगमन करिब दोब्बरले बढेर ५ लाख १६ हजार ७४९ पुगेको हो ।

भूकम्प आएको वर्ष सन् २०१५ मा पर्यटन क्षेत्र निकै सुस्ताएको थियो । त्यसयताका वर्षमा भने पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको छ । सन् २०१९ को मे महिनासम्ममा ५ लाख १६ हजार ७४९ पर्यटक नेपाल भित्रिएको तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । जबकि, सन् २०१५ को सोही अवधिमा २ लाख ५९ हजार ६२४ पर्यटकमात्र नेपाल आएका थिए ।

सन् २०१६ को पहिलो पाँच महिनामा २ लाख ८६ हजार ३९७, २०१७ को सोही अवधिमा ४ लाख ४ हजार ३४८ र २०१८ को मे महिनासम्ममा ४ लाख ५४ हजार ८५५ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०१५ भरिमा आएजति पर्यटकले २०१९ को ५ महिनामै नेपाल भ्रमणमा आइसकेका छन् । तथ्यांकअनुसार हरेक वर्ष २ लाखको हाराहारीमा पर्यटकको संख्या बढ्दै गएको छ ।

राष्ट्र बैंकका अनुसार २०१५ भरिमा ५ लाख ३८ हजार ७९०, २०१६ मा ७ लाख ५३ हजार २, २०१७ मा ९ लाख ४० हजार २१८ र २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल आएका छन् ।

पर्यटक आगमनमा वृद्धि भएसँगै गत वर्ष ट्राभल सेक्टरले ६८ अर्ब आम्दानी गरेको छ । केही वर्षयता नेपालको पर्यटन पूर्वाधार निर्माणले गति लिएको छ । भ्रमण वर्ष २०२० लाई नेपालले विशेष रुपमा मनाउँदैछ ।

नेपालले मात्र नभएर भिजिट इयर २०२० लाई विश्वले विशेष रुपले मनाइरँदा नेपालले पनि पर्यटन आगमन बढाउन विशेष सुविधा घोषणा गर्नुपर्ने होटल एसोसिएसन नेपाल (हान) का द्वितीय उपाध्यक्ष प्रवीनबहादुर पाण्डे बताउँछन् । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार गरी २४ घण्टा सञ्चालनको प्रयास भइरहेको छ, निजगढ, पोखरा, भैरहवालगायतका विमानस्थल निर्माण प्रक्रियाले तीव्रता पाएका छन्,’ उनी भन्छन्, ‘अब विशेष सुविधा घोषणा गरी पर्यटकलाई आकर्षित गर्नुपर्छ ।’

अन्तर्राष्ट्रियस्तरका सभा सम्मेलन तथा कार्यक्रमलाई नेपालमा ल्याउन विदेशस्थित कूटनीतिक नियोगहरुले विशेष भूमिका खेल्नुपर्ने उनको सुझाव छ । भ्रमण वर्ष मनाइरहँदा युनाइटेड अरब इमिरेट्स (यूएई) ले विशेष सुविधासहित वल्र्ड एक्स्पो २०२० आयोजना गरेको उदाहरण दिँदै उनले भने, ‘नेपालले पनि अन्तर्राष्ट्रिय र राष्ट्रिय वायुसेवालाई विशेष सुविधा दिएर नेपालमा आकर्षित गर्नुपर्छ ।’

नेपालमा पर्यटकको संख्या बढ्दै जाँदा पर्यटन पूर्वाधारको मुख्य पक्ष होटल क्षेत्रका लगानीमा पनि तीव्र वृद्धि भएको छ । गत वर्षको जेठसमम्मा बैंक तथा वित्तीय संस्थाबाट होटलमा हुने लगानी ३१ प्रतिशतले बढेको छ । औसत १८ प्रतिशतले कर्जा विस्तार गरेको बैंकिङ क्षेत्रले होटल क्षेत्रमा भने ३१ प्रतिशत लगानी बढाएको हो । उक्त अवधिमा होटल क्षेत्रमा २० अर्ब ९४ करोड कर्जा गएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१ प्रतिशतले बढी हो ।

काठमाडौंमा म्यारियट, ताज, भिभान्ता, चितवनमा फ्रेन, भैरहवामा टाइगर प्यालेस, पोखरामा स्विस इन्टरनेसनल, नेपालगन्जमा सोल्टी वेस्टेन्ड प्रिमियर र सेन्ट्रल प्लाजालगायतका ठूला होटल भर्खरैमात्र खुलेका हुन् । मुलुकमा पर्यटनका लागि सकारात्मक वातावरण बन्दै गएकाले होटल क्षेत्रमा लगानी थपिएको हानका द्वितीय उपाध्यक्ष पाण्डे बताउँछन् ।

प्रकाशित समय १४:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु