गृहपृष्ठ रवीन्द्र अधिकारीको उपलब्धी प्रकाशन गर्ने तयारी
रवीन्द्र अधिकारीको उपलब्धी प्रकाशन गर्ने तयारी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मन्त्रीको रूपमा जिम्मेवारी सम्हालेको झण्डै वर्ष दिनमा दजर्नौं काम पूरा भएको देखिएको छ । सो विवरण मन्त्रालयले प्रकाशन गर्ने तयारी गरेको छ ।
२०७४ चैत २ मा कार्यकाल सम्हालेका अधिकारीले आफ्नो एक वर्षे कार्यकालमा भएका उपलब्धीहरूको फेहरिस्त सार्वजनिक गर्न नपाउँदै दिबंगत भए । चैत २ मा सार्वजनिक गर्ने तयारीसहित प्रगति विवरण लगभग तयार पारिए पनि उनले हस्ताक्षर गर्न भने भ्याएका थिएनन् । मन्त्रालयका अधिकारीहरूले तयार पारेको प्रगति विवरणलाई सम्पादनको क्रममा रहेको र अहिले प्रकाशनको काम भइरहेको जनाईएको छ ।
मन्त्री अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोनतिको काम ४० प्रतिशत सम्पन्न गरेका प्रकाशोन्मुख प्रगति विवरणमा उल्लेख छ । सोही विमानस्थलको रनवे र धवनमार्गमा पानी जम्मा हुने समस्या रहेको थियो । त्यसको स्तरोनतिको काम समेत सम्पन्न हुने आवस्थामा रहेको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्री अधिकारीको कार्यकालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अतिरिक्त तीनवटा विमानस्थलमा रात्रिकालीन उडान सेवा सुरू गरिएको प्रकाशोन्मुख प्रगति विवरणमा उल्लेख छ । झापाको भद्रपुर र कैलालीको धनगढी विमानस्थलमा रात्रिकालीन उडान सुरू गरिएको जनाइएको छ । यस्तै जनकपुर विमानस्थलमा पनि रात्रिकालीन उडान सुरू गर्ने तयारी मन्त्रालयले गरेको छ ।
गौतम बुद्ध विमानस्थलको भौतिक प्रगति ६७ प्रतिशत सम्पन्न भएको विवरणमा उल्लेख गरिएको छ । त्यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति २७ प्रतिशत भएको छ ।
१ सय १४ वटा सम्पदा पुनर्निर्माण भएका र पर्यटक आगमन समेत १२ लाख पुगेको मन्त्रालयको एक वर्षको प्रगति विवरणमा उल्लेख गरिएको छ ।
अधिकारीकै कार्यकालमा थप १० वटा विमानस्थल सञ्चालनमा आएका मन्त्रालयका प्रगति विवरणमा उल्लेख गरिएको छ ।
त्यस्तै सयवटा नयाँ गन्तव्य घोषणा समेत मन्त्री अधिकारीले कार्यकाल सम्हालेपछि नै भएको मन्त्रालयको जानकारी दिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्ट घोषणा गर्ने तयारी भएको समेत प्रगति विवरणमा उल्लेख छ । मन्त्रिपरिषदमा पेश गरिएको कार्यविधि त्यहाँबाट स्वीकृत भएपछि विमानस्थललाई बुटिक एयरपोर्टका रूपमा रुपान्तरणका लागि ढोका खुल्ने र आगामी १ वैशाखमा बुटिक एयरपोर्ट घोषणा गर्ने कार्यक्रम रहेका जनाइएको छ ।
त्यस्तै ‘भ्रमण वर्ष २०२०’को कार्यविधि समेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा पेश गरिएको छ ।
गत बुधबार तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययन गरी ताप्लेजुङको पाथीभरा मन्दिरमा दर्शन गरेर फर्किने क्रममा उनी चढेको हेलिकप्टर दुर्घटनामा भएको थियो । दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाले ज्यान गुमाएका थिए ।
प्रकाशित समय १९:४२ बजे

















