गृहपृष्ठ सुखानी शहीदको सम्झना, नेकपा अध्यक्षद्वय झापामा

सुखानी शहीदको सम्झना, नेकपा अध्यक्षद्वय झापामा

झापा विद्रोहका क्रममा मारिएका ५ जना अग्रणी नेताहरुको सम्झनामा मंगलबार सुखानीमा ४६ औं स्मृति दिवस मनाइँदै छ । सुखानीमा भएको हत्याको सम्झनामा नेपाल कम्युनिष्ट पार्टीले हरेक बर्ष फागुन २१ गते स्मृतिदिवस मनाउँदै आइरहेको छ । सुखानी हत्याकाण्ड पञ्चायतकालमा भएको हत्याकाण्ड हो ।

नेपाली कम्युनिष्ट आन्दोलनका अगुवाहरूलाई प्रहरीले गोली हानी हत्या गरेको थियो । २०२९ साल फागुन २१ मा शुखानीमा नेत्र घिमिरे, रामनाथ दाहाल, विरेन राजबंशी, कृष्ण कुइकेल र नारायण श्रेस्ठलाई जेल सार्ने बहानामा गोली हानि हत्या गरिएको थियो । २९ साल कात्तिकमा प्रहरीद्वारा पक्राउ परेका उनीहरू झापा जेलमा राखिएका थिए । उनीहरूलाई पक्रिएपछि आन्दोलन मत्थर होला भन्ने सोचेको प्रशासनको सोचाइ विपरीत कम्युनिस्टहरूको आन्दोलन झन शसक्त भएको थियो ।

तत्कालीन कम्युनिस्टले जमीनदारलाई सफाइ गर्ने अभियान बढाइरहेका थिए । झापाबाट इलाम जेल सार्ने बहानामा फागुन २१ गते राति सुखानीको जंगलमा पाँचै जनालाई गोली हानेर हत्या गरिएको थियो । त्यस समय झापा विद्रोहको नेतृत्व केपीशर्मा ओली, सिपि मैनालीलगायतका नेताहरुले गरेका थिए ।

हाल त्यो क्षेत्र झापा जिल्लाको शनिश्चरे गाविसमा पर्दछ । शहीदहरुको सम्झनामा इलामको माईनगरपालिकामा रहेको सुखानी शहीद उद्यानमा मंगलबार प्रधानमन्त्री केपीशर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।

आन्दोलनका क्रममा माइनगरपालिकाको सुखानी जंगलमा हत्या गरिएका पाँच जना शहीद, झापा आन्दोलनका क्रममा बलिदान दिएका चन्द्र डाँगी र रामप्रसाद प्रधानसहित केही दिनअघि ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र शनिबार राति निधन भएका पूर्वउपप्रधान तथा नेकपाका नेता भरतमोहन अधिकारीको योगदानको कदर गर्दै सुखानीमा अध्यक्षद्वयले श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

प्रकाशित समय ११:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु