गृहपृष्ठ क्यान इन्फोटेक समृद्धि हासिल गर्ने माध्यम हो : मन्त्री भण्डारी

क्यान इन्फोटेक समृद्धि हासिल गर्ने माध्यम हो : मन्त्री भण्डारी

naresh bhandari

कर्णाली प्रदेशमा आन्तरिक मामिला तथा कनुनमन्त्री नरेश भण्डारीले क्यान इन्फोटेक समृद्धि हासिल गर्ने माध्यम भएको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा यही फागुन २४ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको क्यान इन्फोटेकको समापन कार्यक्रममा मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

समापन कार्यक्रममा उनले विज्ञान र प्रविधि विकासको मूल ढोका भएको बताए । मन्त्री भण्डारीले भने, ‘यो इन्फोटेक मनोरञ्जन लिने नभई ज्ञान आर्जन गर्ने मेला हो । यसबाट विज्ञान र प्रविधिका धेरै कुरा सिक्ने अवसर प्राप्त भएको छ ।’

उनले भने, ‘पल-पल विज्ञानले नयाँ आविश्कारहरु गरिरहेको छ अब कर्णालीबाट पनि विज्ञान र प्रविधि सम्बन्धि नयाँ आविश्कार गर्नुपर्छ । जसलाई विश्व बजारमा पठाएर कर्णालीले शीर ठाडो बनाउन सकोस् ।’

कसैले प्रविधि सम्बन्धि नयाँ आविश्कार गर्छ भन्ने सच्चा राष्ट्रियता त्यही झल्किने बताउँदै मन्त्री भण्डारीले यस पटकको इन्फोटेकबाट अनुभव बटुल्दै आगामी दिनमा अझै भव्य तरिकाले इन्फोटेकको आयोजना गर्न आयोजकलाई सुझाब दिए ।

यो इन्फोटेक डिजिटल कर्णाली निर्माणका लागि कोशेढुङ्गा सावित हुने समेत मन्त्री भण्डारीको भनाइ थियो ।

पाँच दिनसम्म सञ्चालन भएको उक्त इन्फोटेकमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, पर्यटनमन्त्री नन्दसिं बुढा, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलिया, प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीलगायतले अवलोकन गरे ।

समापन कार्यक्रममा क्यान महासंघ कर्णालीका अध्यक्ष पूर्णदेव अधिकारीले प्रदेश सरकार प्रविधिमैत्री भएकाले पनि क्यान इन्फोटेक सफल पार्न हौसला मिलेको बताए । उनले भने, ‘प्रविधिको विकास नगरे अरु विकासमा पछि परिन्छ भन्ने मुख्यमन्त्रीको विश्लेषणलाई आत्मसाथ गरेर अगाडि बढ्छौं । कर्णाली प्रदेश सरकारले गरेको सहयोग क्यान परिवार निकै खुसी भएको छ ।’

आइएमइ पे मुख्य प्रयोजक रहेको उक्त इन्फोटेकमा भिष्टा सिसिटिभीले एशोसियट प्रयोजन गरेको थियो भने अफिसियल इन्स्योरेन्स प्रभु इन्स्योरेन्सले गरेको थियो ।

मेलाभित्र आइसिटी कन्फ्रेन्स, आईटी वर्कसपहरु डिजिटल कर्णालीका लागि स्मार्ट प्रविधि विषयमा सेमिनार, कर्णाली प्रदेशमै पहिलो पटक अनलाइन पब-जी गेम जस्ता कार्यक्रमहरु सञ्चालन भएका थिए ।

सूचना प्रविधिको बृहत प्रदर्शनी, प्रत्येक दिन आईटी सेमिनार, लक्की ड्रबाट पाँच जनालाई रारा भिजिटका लागि गोलाप्रथा समेत गरेको छ । कम्प्युटर ल्यापटप र प्रिन्टर फ्रि सर्भिस क्याम्प, टाईपिङ्ग कम्पीटिसन, नेपाली वैज्ञानिकहरुद्वारा निर्मित रोबोट तथा अन्य प्रविधिहरुको प्रदर्शनी, दृष्टिविहिनहरुलाई कम्प्युटर मोवाईल चलाउन सिकाईएको थियो भने सेवा तथा सामान खरिदमा ५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरिएको थियो ।

अनलाईन टिकेटिङमा निःशुल्क टिकटको व्यवस्था र हरेक दिन १० जनालाई एनपिएभी एन्टिभाईरस सित्तैमा प्रदान गरेको आयोजकले जनाएको छ ।

फगुन २४ गते मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले औपचारिक उद्घाटन गरेपछि स्टलहरुको उद्घाटन रोबोटले रिबन काटेर गरेको थियो । कर्णाली प्रदेशमै पहिलो पटक रोबोट ल्याइएको थियो भने सुर्खेतका विद्यार्थीहरुले बनाएको रोबोट समेत प्रदर्शनीमा राखिएको थियो ।

समापन कार्यक्रममा सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धन बहादुर रावत, उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष कविराज खत्री, क्यानका कानूनी सल्लाहकार दुर्गा सापकोटा, क्यान सुर्खेतका संस्थापक अध्यक्ष राम किशोर रावललगायतले आफ्ना भनाईहरु राखेका थिए ।

प्रकाशित समय २०:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु