गृहपृष्ठ मेयरकै गाउँमा खानेपानीको हाहाकार
मेयरकै गाउँमा खानेपानीको हाहाकार
दाङ– घोराही उपमहानगरपालिका–२, सुर्केडाँगीका लक्ष्मण चौधरी अहिले ३८ वर्षका भए । उनले थाहा पाएदेखि नै गाँउले सबैले नजिकैको चेपे सोताको पानी पिउँदै आएका छन् । गत वर्षदेखि धेरैजसोले घरमा कुवा खनाए पनि आर्थिक अभावमा अधिकांशले अझै पनि सोताकै पानी पिउँदै आएका छन् ।
सोतामा बग्ने पानीको छेवैमा सानो जरुवा बनाएर त्यही जरुवाको पानी प्रयोग गर्ने गरेको चौधरीले बताए । गाउँलेले पिउने पानी र गाईभैंसीले पिउने पानी एकै ठाउँको हो । बिहान गाउँका सबै मानिस पिउने पानी लिन आउँछन् भने दिउँसो गाईबस्तुले सोही ठाउँको पानी पिउँछन् ।
गर्मी समयमा पानी कम हुने र दूषित पनि हुने भएकाले स्थानीयबासी बिरामी पर्ने गरेको स्थानीय राज चौधरीले बताए । उनीहरुले गाउँठाउँकै मान्छे मेयरमा निर्वाचित भएको भन्दै पिउनेपानीको व्यवस्था गरिदिन आग्रह गरे ।
घोराही उपमहानगरपालिका–१, रैटारीको दलितबस्तीका २५ घरपरिवार पनि सोताकै पानी पिउँछन् । उनीहरुले पिउने गरेको पानीको मुहान पनि उस्तै फोहोर छ । दिउँसो चरनका लागि ल्याएका गाईबस्तु र मानिसले पिउनका लागि प्रयोग गर्ने पानीको मुहान एउटै भएका कारण उनीहरुलाई समय–समयमा झाडापखालासमेत लाग्ने गरेको छ ।
सफा पिउने पानीको व्यवस्था गर्ने वाचा गरेका वडा अध्यक्षलाई उनीहरुले पानीको समस्या समाधानका लागि धेरैपटक गुनासो गरे । तर, गुनासो सुनुवाइ नभएको स्थानीय वेदबहादुर विश्वकर्माले बताए । ५८ वर्षका उनले आफूलाई सम्झना भएदेखि अहिलेसम्म त्यही सोताको पानी पिउँदै आएका छन् । दलितबस्ती भएको ठाउँ उच्च भएका कारण कुवा खन्दा पनि पानी नभेटिएकोले सोताकै भर पर्नुपरेको उनले बताए ।
स्थानीय सरकार प्रमुख सोही ठाउँका भएकाले समस्याबारे जानकार छन् । तर, समस्या समाधानका लागि पहल नभएको उनीहरुको गुनासो छ । वेदबहादुर आफैंले पनि धेरैपटक मेयरसँग पानीको समस्या समाधानका लागि आग्रह गरेका छन् । ‘हुन्छ, गरौंला मात्र भन्नुहुन्छ,’ उनले भने ।
घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले बोरिङ खन्नका लागि बजेट विनियोजन गरिसकेको बताए । ‘आफैंले पनि पानीको समस्या झेलिरहेका कारण म गम्भीर छु, बोरिङ खन्ने काम छिट्टै सुरु हुनेछ,’ चौधरीले भने ।
प्रकाशित समय २०:२६ बजे

















