गृहपृष्ठ पानीको स्रोत संरक्षणमा जुट्न खानेपानी मन्त्रीको आग्रह
पानीको स्रोत संरक्षणमा जुट्न खानेपानी मन्त्रीको आग्रह
खानेपानी मन्त्री बिना मगरले पानीको स्रोत संरक्षण गर्न सबैजना एकजुट भएर अभियान सञ्चालन गर्नुपर्ने बताएकी छन् ।
विश्व पानी दिवसको उपलक्ष्यमा शुक्रबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले पानीको स्रोत संरक्षणमा सरकार र नागरिकको तर्फबाट अभियान चलाउनु पर्ने बताइन् । सोसाईटी अफ पब्लिक हेल्थ ईन्जिनियर्स (सोफेन) र खानेपानी तथा ढल व्यवस्थापन विभागले संयुक्त आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पानीको स्रोत संरक्षणमा एकजुट भएर जुट्न आग्रह गरिन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘अन्नको लागि हामी जिन्दगीभर समय खर्चिन तयार छौं तर मानव जीवनमा नभई नहुने पानीका लागि भने समय दिंदैनौं । प्रकृति र वातावरणसँग पानीको घनिष्ट सम्बन्ध छ । त्यसैले पानीको मुहान जोगाउन सबैजना लागौं ।’
खानेपानीमा आम जनताको पहुँच पु¥याउन योजना बनाएर सरकार अघि बढिरहेको उनले स्पष्ट पारिन् । खानेपानीमा सहज पहुँच पु¥याउन, स्रोतको संरक्षण गर्न र वितरण प्रणाली चुस्त बनाउन साझा ऐन निर्माणको तयारी भईरहेको उनले जानकारी दिइन् ।
कार्यक्रममा पूर्व मन्त्री एवं नेकपाका नेता गणेश साहले पिउने पानीमा सरकारले लगानीका लागि ध्यान नदिंदा प्राथमिकतामा नपरेको बताए । ठूलठूला जलविद्युतका लागि मात्र सरकारको ध्यान गएको बताउँदै पूर्व मन्त्री साहले मानव जीवनमा नभई नहुने पिउने पानीमा भने कत्ति पनि ध्यान नदिएको गुनासो गरे ।
प्रकाशित समय १८:३२ बजे

















