गृहपृष्ठ जेष्ठ नागरिकलाई घरघर पुगेर उपहार (फाेटाे फिचर)
जेष्ठ नागरिकलाई घरघर पुगेर उपहार (फाेटाे फिचर)
ताम्रकार समाजले ९० बृद्धबृद्धालाई यसरी गर्यो सम्मान
पाटनको नःबहाल टोलका ८९ वर्षीय काजीरत्न ताम्रकारको मन बिहानदेखि बेचैन थियो । कान कम सुन्ने उनी घरी मूलढोकातिर नजर दौडाउंथे, घरी छोरी, बुहारीको अनुहार नियाल्थे । एकदिन अगाडि छोरी हिराकुमारीले ताम्रकार समाजबाट विगतका वर्षहरुमा जस्तै जेष्ठ नागरीक घरभेटका लागी समाजको टोली घर आउंदैछ भन्ने सूचना दिएदेखि उनको आंखामा उत्साह छाएको थियो । घर ७२ सालको महाभूकम्पमा परी क्षतिग्रस्त भएदेखि वारीमा टहरा बनाएर बसेका उनलाई भेट्न समाजको टोली करीब ११ बजेतिर छिर्यो । हंसिलो अनुहारले सबैलाई आशिष प्रदान गर्दै उनले स्वागत गरे । समाजका सदस्यहरुले उनको हालखबर सोधे, स्वास्थ्य परिक्षण गरे, सुखदुखका कुरा गरे, समाज तथा दाताहरुले उपलब्ध गराएको उपहार दिए । यति हुँदासम्म उनको मुहारमा असिम आनन्दको अनुभव झल्कंदै थियो । समाजबाट आएका सदस्यहरुलाई मुरीमुरी धन्यवाद दिंदै उनले सबैलाई चिया खाएर मात्र जान अनुरोध गरे ।
ताम्रकार समाजको जेष्ठ नागरीक उपसमितिबाट विगत पाँच वर्षदेखि यसरी जेष्ठ नागरिक घरभेट कार्यक्रम नियमित रुपमा गरिँदै आइरहेको छ । यस पटक ताम्रकार समाजले ७८ वर्ष पूरा गरेका करीब ९० जना जेष्ठ नागरिकहरुको घरघरमा गएर यसरी भेटघाट गरेको थियो । उपसमितिलाई स्वास्थ्य उपसमिति, युवा तथा खेलकुद उपसमिति, धार्मिक क्रियाकलाप उपसमितिले साथ दिएका थिए । भगवानको रुपधारण गरिसकेका जेष्ठ नागरीकहरुको सम्मान गर्न पाउनु समाजको अहोभाग्य भएको ताम्रकार समाजका अध्यक्ष रविन्द्रराज ताम्रकारले बताए । उनले समाजबाट हुँदै आइरहेका विभिन्न कार्यक्रमहरु मध्ये यस कार्यबाट बढी आत्मसन्तुष्टी मिलेको बताउँदै जेष्ठ नागरिकहरुको आर्शिवाद एवं मार्गनिर्देशनबाट समाजले अझ उन्नति प्रगति गर्न सक्ने बताए । उनले जेष्ठ नागरिकहरुको पछाडि सिंगो समाज पनि छ है भन्ने महसूस गराउन यस कार्यक्रमले भूमिका खेलेको बताए । 
समाजले ६ वटा समुह बनाएर ९० जना जेष्ठ नागरिकहरुको घरघरमा पुगेको थियो । उपसमितिका संयोजक विजय ताम्रकारले उनीहरुको आशिषले थप उर्जा प्रदान गर्ने बताए । उनले समाजबाट यस कार्यको अलावा साधारणसभामा पहिलो ज्याः जंक्वः सिधेका ७८ वर्ष पूरा गरेका जेष्ठ नागरिकहरुलाई सम्मान पनि गर्दै आइरहेको बताए । यस कार्यक्रमका लागि समाजलाई उदार मन भएका दाताहरुले सहयोग गरेका थिए ।


प्रकाशित समय १६:२५ बजे

















