गृहपृष्ठ घुम्ती बिमा कार्यक्रम सुरु, बिमा क्षेत्रमा उत्साह
घुम्ती बिमा कार्यक्रम सुरु, बिमा क्षेत्रमा उत्साह
बिमा साक्षरता बढाउने उद्देश्यले राष्ट्रव्यापी अभियान सुरु गरिएको छ । नेप्लिज सेन्टर फर इन्स्योरेन्स एन्ड सोसल सेक्युरिटी (एनसिस) ले घुम्ती बिमा देशव्यापी कार्यक्रम सु्रु गरेको हो । उदयपुरको बेलका नगरपालिकाबाट गत शनिबार बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले उद्घाटन गरेको कार्यक्रम अब सातै प्रदेशका विभिन्न स्थानीय तहमा सञ्चालन हुने एनसिसले जनाएको छ ।

बिमा सचेतना बढाउने, बिमाको पहुँचबाहिर रहेका नागरिकलाई बिमाको पहुँचमा ल्याउने, बिमालक्षित सरकारी योजनामा सहयोग पु¥याउने र सामाजिक सुरक्षा प्रवर्द्धन गर्ने उद्देश्यले सुरु अभियानअन्तर्गत अब धादिङ, काभ्रपलाञ्चोक, धनुषा, रौतहट, सप्तरी, सुनसरी, मोरङ र झापामा सचेतनामूलक कार्यक्रम चलाइने एनसिसकी अध्यक्ष लक्ष्मी श्रेष्ठले जानकारी दिइन् । कार्यक्रम गर्ने स्थानीय तहमा पुगेर पूर्वअध्ययनपश्चात प्राथमिकता निर्धारण गरिने उनले बताइन् ।
बिमा समितिका अध्यक्ष चापागाईंले एनसिसले सुरु गरेको कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे । ‘निजी क्षेत्रबाट यस्तो पहल हुनु निकै सकारात्मक र प्रशंसनीय कुरा हो,’ उनले भने, ‘मलाई लाग्छ, यो अभियान बिमाको पहुँचभन्दा बाहिर रहेका नागरिकलाई बिमासँग जोड्न महत्वपूर्ण हुन्छ ।
नेपालमै पहिलोपटक देशव्यापी रुपमा घुम्ती बिमा कार्यक्रम सुरु हुनु बिमा क्षेत्रका लागि शुभ संकेत भएको बिमा विज्ञ डा. रवीन्द्र घिमिरेले बताए । ‘सरकार, नियामक र नेपालीलाई फाइदा हुने भएकाले यो कार्यक्रम वास्तवमै महत्वपूर्ण छ ।’
विकासशील राष्ट्रका बिमा र पुनर्बिमा कम्पनीहरुको संगठन (एआइआरडिसी)का अध्यक्ष, बिमक संघका पूर्वअध्यक्ष एवम् नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले घुम्ती बिमा कार्यक्रमअन्तर्गत तत्काल बिमा लेख किन्न सकिने भएकाले यो प्रभावकारी हुने बताए । ‘बिमा गर्न चाहानेले घुम्ती बिमा कार्यक्रममै बिमा पोलिसी किन्न सक्ने कुरा सकारात्मक छ,’ उनले भने, ‘यसले साक्षरतासँगै बिमा व्यवसाय बढाउन पनि मद्दत पुग्ने छ ।’
बिमा समितिका पूर्वकार्यकारी निर्देशक श्रीमान कार्कीले मुलुकलाई आवश्यक कार्यक्रम सुरु भएको बताए । ‘सरकारी कार्यक्रमलाई नै सहयोग पुग्ने गरी एनसिसले कार्यक्रम सुरु गरेको मैले महशुस गरेको छु,’ उनले भने, ‘यसमा सम्बद्ध निकायले साथ दिएमा यो कार्यक्रम वास्तवमै प्रभावकारी हुनेमा म चाहिँ ढुक्क छु ।’
बिमक संघका कार्यकारी सदस्य एवं लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नूरप्रकाश प्रधानले बिमाबारे कतिपय मान्छेमा रहेको भ्रममात्रै हटाउन सक्दा पनि बिमितहरु बढ्ने बताए । ‘एनसिसले बिमा किन गर्नुपर्छ भन्ने कुरा प्रभावकारी ढंगले बुझाइदिएमा साक्षरतासँगै बजार पनि बढ्ने छ,’ प्रधानले भने ।
प्रभ लाइफ इन्स्यारेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले देशका दूरदराजसम्म पुग्ने गरी बिमासम्बन्धी कार्यक्रम सञ्चालन गर्न लागिएकोप्रति आफूहरु निकै उत्साहित भएको बताए । ‘यो आवश्यक थियो,’ उनले भने, ‘एनसिसले सुरु गरेको छ, यसलाई प्रभावकारी ढंगले सञ्चालन गरेको खण्डमा नतिजाका लागि धेरै कुर्नुपर्छ जस्तो मलाई लाग्दैन ।’
निर्जिवन बिमा व्यवसायी संघका महासचिव एवम् नेपाल इन्स्योरेन्स कम्पनीका नायव महाप्रबन्धक विक्रान्त पाण्डेले घुम्ती बिमा अभियान सुरु भएसँगै आफ्नो सपना पूरा भएको बताए । ‘बिमा क्षेत्रमा दुई दशक बिताएको मैले सपना देखेको थिएँ कि घुम्ती बिमा सुरु भएमा बिमा क्षेत्रमा कायापलट हुन्थ्यो,’ पाण्डेले भने, ‘एनसिसले घुम्ती बिमा कार्यक्रम सुरु गरेको छ, मेरो एउटा सपना पूरा भयो, अब कायापलट भएको हेर्ने सपना पूरा हुन बाँकी छ, त्यो अवस्य पूरा हुन्छ भन्ने मेरो विश्वास छ ।’
नेपालमा बिमा सेवा सुरुवात भएको ६८ वर्षसम्म कुल जनसंख्याको ७ प्रतिशतमात्र नागरिक बिमाको पहुँचमा थिए । दुई वर्षयता १० प्रतिशत वृद्धि भएर पुससम्ममा १७ पुगेको बताइइको छ । बिमामा नेपालीको पहुँच बढाउन बिमा समितिले पनि जनप्रतिनिधिसम्म पुगेर चेतनामूलक कार्यक्रम गर्दै आएको छ ।













प्रकाशित समय १६:१२ बजे

















