गृहपृष्ठ एमाले-माओवादी एकता प्रक्रियाबारे सामाजिक सञ्जालमा यस्तो छ टिप्पणी
एमाले-माओवादी एकता प्रक्रियाबारे सामाजिक सञ्जालमा यस्तो छ टिप्पणी
काठमाडौं– एमाले–माओवादी एकता प्रक्रिया सर्दै र लम्बिँदै जाँदा दुवै पार्टीका नेता-कार्यकर्ता नै अन्योलमा पर्न थालेका छन् । एमाले नेताहरू माओवादी नेताका भाषण र मिडियाबाजीका कारण एकता प्रक्रियामा अविश्वास बढेको बताउँछन् भने माओवादी नेताहरू एमालेलार्इ विश्वास गर्न सकिरहेका छैनन् । एकता प्रक्रिया लम्बिँदै जाँदा एकताका लागि तयार भएका दुवै दलका नेता-कार्यकता नै सशंकित देखिएका बेला सामाजिक सञ्जाल ट्विटरमा भने यसरी टिप्पणी भइरहेको छ :

पार्टी एकीकरणमाथि आशंका गर्दै कार्टुनिस्ट रवि मिश्र @rabimishra लेख्छन् : घिम्रे काका भन्नुन्त्यो – “टाइ बाँध्न लागो सुलुत्त फुस्किन्च, बाँध्न लागो सुलुत्त फुस्किन्च । लास्टमा के र’ च भनेर हेर्दा त -गोमन साँप” भनेर । बाम एकता नि त्यस्तै भै’रच । कतै टाइ भन्ठान्या जिनिस गोमन त छैन ?

त्यस्तै, एकताबारे दुवै दलका नेता र कार्यकर्तामा अहं बढेको भन्दै सुजन खनाल @Dear_sujan लेख्छन् : चुनावको बेला कांग्रेसलाई हराउन एक भएका एमाले माओवादीका कार्यकर्ताहरु अहिले तँ भन्दा म राम्रो तँ भन्दा म शक्तिशाली, तेरोभन्दा मेरो सिद्धान्त राम्रो भन्दै झगडा गर्दैछन् । यही सोच, यहि विचार राखेर पार्टी एकीकरण हुने हो भने यो एकता घाँडो र भएमा दुई-तीन महिनामै नै फुट्ने निश्चित छ ।

पार्टी एकीकरणमा बाह्य तत्वको चलखेल रोक्न आफ्नो थैली बलियो बाँध्नुपर्ने भन्दै ओमकुमार थापा @omthapaktm लेख्छन् : एमाले माके पार्टी एकता अन्तिम चरणमा पुग्यो अब घोषणा गर्न मात्रै बाँकी छ भन्दै गरेको अवस्थामा फ्याट्ट मोदीको नेपाल भ्रमणले अब दुवै पार्टीबीचको सम्बन्धमा चिसोपन पो बढ्दै छरे ! हैन, पार्टी एकतामा मोदी भिलेन नै भएका हुन् त ? आफ्नो सातुको थैलो दह्रोसँग बाँधे त साथीलाई चोर लाउनै पर्दैन नि !

एकतामा विवाद गर्नु भनेको जनतामाथिको बेवास्ता हो भन्दै प्रकट कुमार @PrakatKumar लेख्छन् : चुनावका बेला एकताको भजन गाएर भोट ल्याउने, अहिले एकता गर्ने बेला विवाद बढाउँदै लाने ? जनता मात्र एक ‘मत’ हुन भन्ने सोच ! जब एकमत हुन्छन् नि अनि एमाले पनि चिन्दैनन्, माओवादी पनि चिन्दैनन् ।

पार्टी एकताका लागि दुवै दलबाट त्याग आवश्यक रहेको भन्दै कमल घिमिरे @Kghimire_77 ट्विट गर्छन् : डर त्रास, शंका उपशंका र चरम ब्यक्तिगत स्वार्थभन्दा माथि उठ्दै राष्ट्रहित साथै जनहितलाई सर्वोपरी ठान्दाको स्थितिमा मात्रै पार्टी एकता सम्भव हुन सक्ला । हैन भने उहीँ पित्ले अनि उहीँ सित्ले !
प्रकाशित समय ११:२४ बजे

















