गृहपृष्ठ पार्टी एकताबाट संघीय फोरम व्याक, सरकार छाड्नुपर्ने राजपाको शर्त अस्विकार

पार्टी एकताबाट संघीय फोरम व्याक, सरकार छाड्नुपर्ने राजपाको शर्त अस्विकार

संघीँय समाजवादी फोरम नेपालले चासो नदिँदा राष्ट्रिय जनता पार्टी (राजपा) सँगको एकता अन्यौलमा परेको छ । दुबै दलले एकताका लागि पत्राचार र छलफल अघि बढाए पनि पछिल्लो समय सँघीय फोरमले चासो नदिएपछि छलफलको गतिविधी अघि बढ्न नसकेको हो । फागुन २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको राजपाले संघीय फोरमलाई पत्र लेखि तत्कालै पार्टी एकता गर्न तयार रहेको बताएको थियो ।

गत मंसिरमै सघीय फोरमले पठाएको पत्रको जवाफ दिँदै राजपाले संघीय फोरमलाई सरकार छाडे मात्रै एकता वार्ता अघि बढ्न सक्ने शर्त राखेको थियो । फोरम सरकार छाड्न अनिच्छुक भएकाले छलफलमा आउन नचाहेको हो । सरकार छाड्नुपर्ने राजपाको शर्तकै कारण पार्टी एकताको पहिलो प्रस्ताव राख्ने संघीय फोरम आफैं व्याक भएको छ । गत मंसिर २३ गते संघीय फोरमले राजपालगायत विचार मिल्ने पार्टीसँग एकताका लागि प्रस्ताव राखेको थियो ।

सरकारले संविधान संशोधन र मधेसका मुद्दा सुनुवाई गर्न कुनै तदारूकता नदेखाए पनि सरकारमा बसिरहेकाले फोरमले पार्टी एकता नचाहेको प्रष्ट देखिएको राजपाका महासचिव मनिषकुमार सुमन बताउँछन् ।

‘उहाँहरु जनताको अगाडि सबै मधेश दल एक हुने, पार्टी एकता गर्ने भन्ने ओठे भक्ति मात्र गाउनुहुन्छ । अनि सरकारमा बसिरहनु हुन्छ, न त संविधान संशोधन गर्न दवाव दिनुहुन्छ न सरकार छाड्न सक्नुहुन्छ,’ सुमनले भने ‘यथास्थितिमा, सरकारमै बसेर फोरमसँग हामी पार्टी एकताका लागि संवाद गर्दैनौँ, अहिले उहाँहरु आफै टाढाटाढा हुनुभएको छ ।’ फोरमलाई मधेशी जनताभन्दा सरकार प्यारो र मधेसीको अजेन्डाभन्दा सत्ता प्रिय बनेपछि वार्ता अघि बढ्न नसकेको सुमनको आरोप छ ।

संघीय फोरमले सहअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा उपाध्यक्ष रकम चेम्जोङ, महासचिव रामसहाय यादव, उपमहासचिव प्रकाश अधिकारी, सचिव इस्तियाक राई र राजनीतिक समिति सदस्य महेन्द्र थापा सदस्य रहेको ६ सदस्यीय वार्ता समिति गठन गरेको थियो । सोही समितिले राजपा, राष्ट्रिय जनमुक्ति पार्टी, नयाँ शक्ति पार्टीलगायतसँग एकाताका लागि पत्राचार गरेको थियो ।
फोरमलगायत अन्य क्षेत्रीय र जातीय पार्टीहरूबीच एकताका लागि चैत १ गते राजपाले पनि राजेन्द्र महतोको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ । र, फोरमले पठाएको पत्रको जवाफसमेत दिएको छ । तर अहिले संघीय फोरमले यथास्थितिवादीसँग सहकार्य गरेर देशमा यथास्थितिवादलाई मलजल गर्ने काम गरिरहेको राजपाको आरोप छ । नेकपा नेतृत्वको सरकारलाई दुई तिहाइ पुर्याएर अग्रगमन एवं परिवर्तनकारी शक्तिलाई धम्कउने मजबुती प्रदान गर्ने काम दुर्भाग्यपूर्ण भएको राजपाको ठहर छ ।

यद्यपि एकताबाट व्याक भएको आरोपको भने संघीय फोरमले अस्विकार गरेको छ । वार्ता समितिका संयोजक तथा पाटीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ भन्छन्, ‘विचार, मुद्दा पक्षधरताहरूबीचको एकता अनिवार्य छ, हामी पार्टी एकताका लागि सकारात्मक छौं, वार्ता र छलफलमा आए एकताका ऐजेण्डाबारे छलफल गर्न सकिन्छ ।’

प्रकाशित समय १९:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु