गृहपृष्ठ सडक दुर्घटनामा ३७ जनाको मृत्यु
सडक दुर्घटनामा ३७ जनाको मृत्यु
बाँकेमा चालू आर्थिक वर्षको आठ महीनामा भएका सडक दुर्घटनामा परी ३७ को मृत्यु भएको छ । मुत्यु हुनेमा दुई बालबालिकासहित नौ महिला रहेका छन् ।
आठ महीनाको अवधिमा बाँकेमा ६० सवारीसाधन दुर्घटनामा वपरेका र ३७ को मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका सूचना अधिकृत प्रहरी नायब निरीक्षक ओमप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, गत वर्षभन्दा यस वर्ष सवारी दुर्घटनामा वृद्धि भएको छ । यो वर्ष सवारी दुर्घटनामा परी ७९ गम्भीर घाइते भएका छन् । अझै केही घाइतेको अस्पतालमा उपचार भइरहेको छ । यो अवधिमा जिल्ला ट्राफिक कार्यालयले ट्राफिक नियम उल्लङ्घन गरेका १८ हजार ९५० सवारीसाधनका चालकलाई कारबाहीसमेत गरेको छ ।
बाँकेमा २० असोज २०७५ मा राप्ती सोनारी गाउँपालिकाको कुसुम नजिक ट्रक र हाइस एकापसमा ठोक्किँदा पाँचको मृत्यु भएको थियो । धेरैजसो सवारी दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको सूचना अधिकृत पौडेलले बताए ।
दुर्घटना न्यूनीकरण गर्न विभिन्न किसिमका चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको प्रहरी निरीक्षक हिरेन्द्र रोकायले बताए ।
प्रकाशित समय १२:५८ बजे

















