गृहपृष्ठ यातायात पूर्वाधार र कृषिमा विदेशी लगानी भित्र्याउनुपर्नेमा विज्ञहरुको जोड
यातायात पूर्वाधार र कृषिमा विदेशी लगानी भित्र्याउनुपर्नेमा विज्ञहरुको जोड
काठमाडौंमा जारी अन्तर्राष्ट्रिय लगानी सम्मेलनअन्तर्गत आज दिगो यातायात पूर्वाधार र कृषि तथा जडीबुटीको विषयमा छलफल भइरहेको छ । होटल सोल्टी क्राउन प्लाजामा भइरहेको सम्मेलनमा नेपालको पूर्वाधार विकासमा अन्तर्राष्ट्रिय सहयोग कसरी जुटाउने विषयमा विज्ञहरुले आफ्नो धारणा राखिरहेका छन् ।
आजको बैठकको अध्यक्षता भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले गरेका छन् । आजको पहिलो सत्रमा सडक, रेल, जलयातायातलगायत क्षेत्रका लगानीका विविध आयामबारे छलफल भएको छ । भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देलले नेपाल सरकारले ठूला भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको भन्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चरणमा रहेको बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१९ र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२० अन्त्यसम्म निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको छ ।
मनकामना, चन्द्रागिरी र कालीञ्चोकमा केबलकार सफलतापूर्वक सञ्चालन आइसकेको र गण्डकी, कोशी र कर्णाली नदीमा जलयातायातको प्रवल सम्भावना रहेको औँल्याउँदै उनले यी पूर्वाधारमा लगानी गरेर उच्च प्रतिफल प्राप्त गर्न सकिने बताए ।
छलफलमा यातायात तथा भौतिक पूर्वाधार क्षेत्रका जानकारले नेपालले अपेक्षित विकास र समृद्धिका लागि तत्काल योजनाबद्ध प्रयास शुरु गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले भौतिक पूर्वाधारको क्षेत्रमा निजी क्षेत्रलाई पनि साथमा लिएर अगाडि बढ्नुपर्ने धारणा राखे ।
अन्तिम दिन के–के हुँदैछ ?
लगानी सम्मेलनको आज अन्तिम दिन हाे र विभिन्न परियोजनामा सम्झौता र समझदारी गरेर सम्मेलन सकिँदैछ । सम्मेलनको दोस्रो तथा अन्तिम दिन लगानीकर्ताका अनुभव समेटिएका विभिन्न सत्रमा छलफल पछि सम्झौता र समझदारीमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । गैरआवासीय नेपाली संघ र सरकारबीच पूर्वाधारमा लगानी गर्ने गरी १० अर्बको कोष स्थापना गर्ने सम्झौता हुँदै छ ।
नेपालमा लगानीको सम्भावना रहेका कृषि, बन, पूर्वाधार विकासका सत्रहरुमा पनि समूहगत छलफल पनि हुनेछ । सम्मेलनका क्रममा १२ वटा विभिन्न परियोजनामा लगानी सम्बन्धी सम्झौता र समझदारी हुने लगानी बोर्डले जानकारी दिएको छ ।
सम्मेलनका क्रममा जलविद्युत, कृषि, उद्योग, पर्यटन यातायात लगायतका सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी कुला ७७ परियोननका सम्मेलनमा राखिएको छ । शुक्रबारदेखि शुरु भएको सम्मेलनमा ४० देशका ६ सय ५० को सहभागितता रहेको छ ।
प्रकाशित समय १२:५१ बजे

















