गृहपृष्ठ ज्येष्ठ नागरिकलाई चन्द्रागिरि भ्रमण
ज्येष्ठ नागरिकलाई चन्द्रागिरि भ्रमण
ललितपुर महानगरपालिका–५ ले १५० ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । वडा कार्यालयले आइतबार काठमाडौंको प्रमुख पर्यटकीय स्थल चन्द्रागिरिको भ्रमण गराउनुका साथै दोसल्ला ओढाएर सम्मान गरेको हो । सम्मानित हुनेमा नेपाल सरकारका पूर्व मुख्यसचिव दामोदर गौतमलगायत १५० ज्येष्ठ नागरिक छन् ।
वडाध्यक्ष विकासमान श्रेष्ठले अनुभवले खारिएका र देशका विभिन्न ओहोदामा पुगेर विश्राम लिएका ज्येष्ठ नागरिकको सम्मान गर्न पाउनु वडाका लागि गर्वको विषय भएको बताए । ‘ज्येष्ठ नागरिकको सम्मानका लागि वडा कार्यालय सदैव तयार छ,’ उनले भने ।
पूर्व मुख्यसचिव गौतमले आफ्नै वडाबाट सम्मानित हुन पाउँदा निकै खुसी लागेको उल्लेख गर्दै वडास्तरमा स्वयंसेवकका रुपमा कार्य गर्ने धोको रहेको बताए । कार्यक्रममा वडा सदस्य अशोक श्रेष्ठ, शोभादेवी प्रधान श्रेष्ठ, मैया रिजाल र पुनम निरौलाको सहभागिता थियो । (रासस)
प्रकाशित समय २१:१५ बजे

















