गृहपृष्ठ श्रम मन्त्रालयमा सुरु भयो कल सेन्टर
श्रम मन्त्रालयमा सुरु भयो कल सेन्टर
सोमबारदेखि श्रम मन्त्रालयमा कल सेन्टरमा सुरु भएको हो । वैदेशिक रोजगारीमा गएका र जाने तयारीमा रहेकाहरुका गुनासो र समस्या, देशभित्रको श्रम र सामाजिक सुरक्षा विषयका गुनासा र समस्या सुन्न र समाधान गर्न कल सेन्टर सुरु भएको हो ।
वैदेशिक रोजगार बोर्डको व्यवस्थापनमा सुरु कल सेन्टरमार्फत स्वदेश तथा विदेशमा रहेका नेपालीले वैदेशिक रोजगार विभाग, प्रधानमन्त्री रोजगार कार्यक्रम, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम, वैदेशिक रोजगार बोर्डलगायत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मातहतका निकायहरूका सेवा, कार्यक्रमहरूबारे कुनै पनि जानकारी, सुझाव वा गुनासो गर्न सक्नेछन् । वैदेशिक रोजगारीका लागि जानुअघि देशभित्रै ठगीमा पर्दा वा विदेशमा पुगिसकेपछि भनेको काम र तलब नपाएर समस्यामा पर्दा कल सेन्टरमा फोन गरेर सहयोग माग्न सकिने छ ।
कल सेन्टर बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ । आउने गुनासोको चाप बढी भए चौबीसैघण्टा सञ्चालन गरिने मन्त्रालयले जनाएको छ । ‘स्वदेश तथा विदेशमा रहेकाले फोन, इमेल, इमो भाइवर लगायतबाट आफ्ना सुझाव, गुनासो वा जानकारी लिन सक्नेछन’ व्यवस्थापन गरेको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजप्रसाद श्रेष्ठले भने, ‘जुन निकायसँग सम्बन्धित गुनासो वा सुझाव छ त्यसलाई तत्काल कल सेन्टरमार्फत त्यही निकायमा पठाउने व्यवस्था गरिने छ ।’
गुनासो वा सुझावको सुनुवाई भएरनभएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मोबाइलबाटै हेर्ने भएका छन् । के कस्ता समस्या र गुनासा आएका थिए, अनि तीमध्ये के कति समाधान भए भन्ने जानकारी मन्त्रीले मोबाइलमा रहेको एपबाटै हेर्न सक्ने गरी व्यवस्था गरिएको छ । कल सेन्टरमा समस्या र गुनासा सुन्न देशभित्र र बाहिरका लागि छुट्टाछुट्टै नम्बरको व्यवस्था गरिएको छ ।
देशमा भएकाहरुले ११४१ र १६६००१५०००५ नम्बरमा फोन गर्न सकिनेछन् । अहिलेलाई नेपाल टेलिकमको मोबाइलबाट यी नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्ने छैन । केही समयपछि एनसेलका प्रयागकर्तालाई समेत निःशुल्क हुनेगरी व्यवस्था मिलाउने बोर्डको तयारी छ । विदेशमा हुनेहरुले भनेर ९७७ – १–५९७०००८ मार्फत फोन गरेर गुनासो वा जानकारी लिन सक्नेछन् ।
प्रकाशित समय १७:२५ बजे

















